प्रहरीले किन्ने नयाँ गाडीको टेन्डरमा टाटा, महिन्द्रा र रिडाराले मारे बाजी, १ अर्बको कारोबार



शुक्र गिरी
२०८२ पुष १६ गते ०६:२२ | Dec 31, 2025
प्रहरीले किन्ने नयाँ गाडीको टेन्डरमा टाटा, महिन्द्रा र रिडाराले मारे बाजी, १ अर्बको कारोबार

काठमाडौं । सुरक्षा निकायले खरिद गर्ने नयाँ गाडीको टेन्डरमा टाटा, महिन्द्रा र रिडाराले बाजी मारेका छन्। जेनजी आन्दोलनसँगै जलेका र चुनावका लागि आवश्यक सवारी साधन किन्न सुरक्षा निकायले निकालेको टेण्डरमा तीनवटा ब्राण्डले बाजी मारेका हुन्।

Tata
GBIME
Nepal Life

टेन्डरमा टाटाको १५० युनिट, महिन्द्राको ७५ युनिट र जिलीको रिडारा इलेक्ट्रिक पिकअप १० वटा छनोट भएका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले तीन कम्पनीलाई गाडी भित्र्याउने जिम्मा दिइसकेको छ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनले नेपाल प्रहरीका धेरै सवारीसाधनमा क्षति पुगेपछि नयाँ गाडी खरिद गर्नुपर्ने बाध्यतामा थियो। सुरक्षा निकायले नयाँ गाडी किन्न एक अर्ब रुपैयाँ खर्चिनेछन्। जनपथ र सशस्त्र प्रहरीलाई गाडी किन्न सरकारले पैसा निकासा गरिसकेको छ।

एक अर्बमा २३५ वटा नयाँ गाडी आउनेछ। सरकारी खरीदले अटोमोबाइल बजारमा भाइब्रेन्ट गर्नेछ। सुरक्षा निकायले धेरै इन्धन गाडी किन्ने भएकाले महिन्द्रा र टाटाको कारोबार बढी हुनेछ। महिन्द्राको क्याम्पर र टाटा योद्धा सुरक्षा निकायले किन्नेछन्।

सुरुमा जनपथ प्रहरीले निकालेको ८५ वटा गाडी खरिदको टेन्डरमा महिन्द्राले करिब ३० करोड रुपैयाँमा टेन्डर पाएको छ। कम्पनीले ७५ युनिट गाडी डेलिभरी दिने तयारी गरिसकेको छ। कम्पनीले क्याम्पर ४१ लाख रुपैयाँमा टेण्डर पारेको हो।

महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटका उपनिर्देशक बरदान बस्नेतले यसले बजारलाई केही हदसम्म चलायमान बनाउने बताउँछन्। ‘सरकारी निकायले खरिद गर्ने सवारी साधनले १ अर्बको कारोबार हुन्छ। यसले पक्कै पनि बजारलाई सकारात्मक बनाउन सहयोग पुग्छ,’ उनले भने।

इलेक्ट्रिक पिकअप सेग्मेन्टमा भने जीलीको रिडारा पिकअपले प्रति युनिट ५५ लाख रुपैयाँ बराबरको ५ करोड ५ लाख रुपैयाँमा टेन्डर पाएको छ। रिडारा गाडीको आधिकरिक बिक्रेता सिजी मोटर्सले उक्त गाडीहरु अहिले सुरक्षा निकायको स्पेसिफिकेसन अनुसारको अतिरिक्त एक्सेसरिजहरु थप गर्नुपर्नेछ। जसमा साइरन, सिट हुट जस्ता कामहरु गरेर मात्रै गाडी डेलिभरी गर्नेछ।

यसैगरी, प्रहरीको दोस्रो टेन्डरमा टाटाले १०० युनिट गाडीको टेन्डर पाएको हो। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार १०० वटाको करिब ४२ करोड रुपैयाँ लागत राखेर टेन्डर आह्वान गरिएको थियो। एउटा गाडीको ४२ लाख रुपैयाँ मूल्य राखिएको थियो। जसका लागि टाटाले लगभग ४० करोड रुपैयाँमा ठेक्का पाएको हो। कम्पनीले महिन्द्राको भन्दा ७० हजार कम कबोल गरेको हो। जसमा कम्पनीले प्रति युनिट ४० लाख हाराहारीमा टेन्डर पाएको हो।

यस्तै अर्को सशस्त्र प्रहरीको पनि ५० वटा यस्तै पिकअप ल्याउने जिम्मा टाटाले नै पाएको छ। स्रोतका अनुसार कम्पनीले ५० वटा गाडी ल्याउने जिम्मा पाएको हो। जसको लागि लगभग २२ करोड रुपैयाँमा ठेक्का पाएको हो। यसमा पनि महिन्द्रा र टाटा नै प्रतिस्पर्धामा थिए। नेपाल प्रहरी स्रोतका अनुसार टाटालाई लेटर अफ इन्टेन्ट(आशय पत्र) मात्रै दिन बाँकी छ। कम्पनीले प्रति युनिट लगभग ४० लाखको हाराहारीमा आर्थिक प्रस्ताव पेश गरेको थियो।

महिन्द्रा र टाटाका गाडीहरु टेन्डरको शर्त र मूल्य म्याच गरेका कारण उनीहरुले ठेक्का पाएका हुन्। गाडी बिक्री गरेको अनुभव र अन्य स्पेशिफिकेसन हेरेर टेन्डर अर्वाड गरेको हो।

टेन्डरको सर्त अनुसार कम्पनीहरुले बीएस-६ इन्जिन भएको गाडी उपलब्ध गराउनुपर्ने हुन्छ।