वाणिज्य विभागले १६४५ वटा फर्ममा गर्‍यो अनुगमन, तिरायो एक करोडभन्दा बढी जरिबाना



बिजमाण्डू
२०८२ पुष ९ गते १३:५६ | Dec 24, 2025
वाणिज्य विभागले १६४५ वटा फर्ममा गर्‍यो अनुगमन, तिरायो एक करोडभन्दा बढी जरिबाना

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको साउनदेखि पुसको पहिलो सातासम्ममा १ हजार ६ सय ४५ वटा बजार अनुगमन गरेको छ। विभागले देशभरका विभिन्न व्यावसायिक फर्ममा अनुगमन गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

सो अवधिमा विभागले ३२६ वटा फर्मलाई जरिबाना गरेको छ। उक्त फर्महरूलाई करिब १ करोड ३७ लाख ८० हजार ८ सय रुपैयाँ जरिबाना तिराएको छ। गत साउनमा ५० वटा कन्सल्टेन्सीलाई ३१ लाख ७० हजार रुपैयाँ जरिबाना तिराइएको थियो।

विभागका अनुसार २५७ वटा व्यावसायिक फर्मसँग कागजात माग गरिएको छ। ११५ वटा फर्म सामान्य अवस्थामा छन्। ९४६ वटा फर्मलाई अन्य निर्देशन दिएको छ भने ४ वटा फर्ममा वस्तु नष्ट गरिएको छ।

करिब १ लाख १५ हजार ७० रुपैयाँ बराबरको सामान नष्ट गरिएको छ। एक फर्मको सामान फिर्ता पठाइएको विभागले जनाएको छ।

साउनदेखि पुसको पहिलो सातासम्म खाद्य वस्तुमा धेरै जरिबाना गरिएको छ। रेडिमेड, भाडाकुडा, कस्मेटिक, मिठाइ, होटल तथा रेष्टुरेन्ट, इलेक्ट्रिक, हार्डवेयर, किरान पसल, जुत्ताचप्पल, अटो पार्ट्स, निर्माण सामाग्री, औषधि तथा जडिबुटी, पानी, स्कुल कजेल, सुनचाँदी, डेरी प्रडक्ट लगायत ३० भन्दा बढी व्यावसायीक फर्ममा अनुगमन गरिएको छ।

केरा र तरकारीदेखि होटल/रेस्टुरेन्टमा गुनासो बढी

केही समययता वाणिज्य विभागमा उपभोक्ताबाट केरा, अण्डा, लसुन, तरकारीको मूल्य वृद्धि बढी भएको गुनासो आइरहेको विभागले जनाएको छ। विभागका महानिर्देशक रोशन ज्ञवालीले उत्पादन कम भएका कारण तरकारीको भाउ बढेको देखिएको बताए।

‘केराको आयात कम गरिएको कारण मूल्य वृद्धि हुन गएको छ। बजारको मागअनुसार आपूर्ति नभएर मूल्य बढेको छ। व्यवसायीले बजार हस्तक्षेप गरेर मूल्य बढी लिएको देखिएन,’ उनले भने।

त्यस्तै, होटल रेस्टुरेन्टका मेनुमा बढी मूल्य राखिएको गुनासो आएपछि विभागले अनुगमन गरिरहेको बताएको छ। विभागले मूल्य मात्र नभइ गुणस्तर र सरसफाइ सबैलाई ध्यानमा राखेर अनुगमन गरिरहेको जनाएको छ।

‘मापदण्डअनुसार नचलेका फर्मलाई कारबाही गरिन्छ। अन्य सामान्य देखिए त्यसलाई सुधारका लागि निर्देशन दिने गरिएको छ,’ महानिर्देशक ज्ञवालीले भने।