काठमाडौं। अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको योजनामा ठेस लागेको छ।
चौधरीले नाडालाई महासंघमा रुपान्तरण गर्न चाहेकामा त्यसमा स्थानीय प्रशासन बाधक बनेको छ। प्रशासनले चौधरी इत्तर पक्षको नेतृत्व गरिरहेका आकाश गोल्छाको पक्षमा निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन तालिका प्रकाशन गरेर मात्र साधारण सभा गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले नाडालाई महासंघमा लाने प्रस्ताव कानुन सम्मत नभएको भन्दै कार्यान्वयन नगर्न पनि निर्देशन दिएको छ।
‘साधारण सभाका लागि प्रस्ताव गरिएका एजेण्डामा नयाँ कार्यसमितिको चयन सम्बन्धी कुनै प्रस्ताव नराखी सूचना प्रकाशित भएकोले सो साधारण सभामा नयाँ नेतृत्वका लागि निर्वाचन कार्य तालिका प्रकाशन गरी साधारण सभा सम्पन्न गर्न हुन र हाल अस्तित्वमा रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाललाई नै महासंघमा लैजाने भनी गरिएको प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धी कार्य नगर्नु/नगराउनु हुन आदेशानुसार निर्देशन गरिएको छ,’ नाडाका अध्यक्ष चौधरी र कार्यसमितिका सदस्यलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार लेखेको पत्रमा भनिएको छ। ।
गोल्छा पक्षका नाडाका केही साधारण सदस्यले साधारण सभा रोक्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका थिए। निवेदनमा निर्वाचन कार्यक्रमविना अवैधानिक रुपमा साधारण सभा गर्न लागिएको भन्दै त्यसलाई रोक्न माग गरिएको थियो।
नाडाको विधान अनुसार हरेक दुई वर्षमा कार्यसमिति चयनका लागि निर्वाचन गर्ने उल्लेख छ। नाडाले यसअघि २०८० पुस २० गते साधारण सभाबाट चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व छानेको थियो। त्यो कार्यसमितिको म्याद पुस १९ गते सकिंदैछ।
तर, बुधबारका लागि साधारण सभा डाकिए पनि चौधरीले निर्वाचन कार्यक्रम अगाडि बढाएका थिएनन्। नाडाको विधानमा साधारण सभाको १५ दिन अगाडि निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने व्यवस्था छ।
नाडालाई महासंघका लाने र निर्वाचन कार्यक्रमविनै साधारण सभा गर्ने अध्यक्ष चौधरी पक्षको निर्णय चित्त नबुझेर गोल्छा पक्ष उच्च अदालत पाटन समेत गएको थियो।
उच्च अदालतले गोल्छा पक्षको रिटमा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि पुस १३ गते पेसी तोकेको छ।
नाडाको मंसिर १५ गते बसेको कार्यसमिति बैठकले पुस ९ गते साधारण सभा गर्ने निर्णय गरेको थियो।
दुई वर्षअघि चौधरीसँग गोल्छा पनि अध्यक्षको दाबेदार थिए। त्यतिखेर गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाइ ४९औं वार्षिक साधारण सभाबाट अध्यक्ष चुन्ने सहमति भएको थियो। तर महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष पद नभएका कारण स्थानीय प्रशासनले मान्यता दिन मानेन। जसका कारण चौधरी र गोल्छाबीचको विवाद चुलिएको थियो।
अध्यक्ष चौधरीले जिल्ला प्रशासन कार्यालयले निर्देशन दिए पनि बुधबारको साधारण सभा नरोकिने बताए। ‘निर्वाचन तालिका पछि प्रकाशित हुन्छ। भोलिको साधारण सभा रोकिंदैन,’ चौधरीले भने।
चौधरीले साधारण सभाको तयारीका विषयमा अहिले केन्द्रीय कार्यसमितिको बैठक राखेर छलफल गरिरहेका छन्।
उनले झम्सिखेलस्थित आफ्नै होटलमा राखेको बैठकमा महासचिवको प्रतिवेदन र बजेट पारित गर्ने तथा साधारण सभाबारे महासचिवले जानकारी गराउने एजेण्डा छ।











