काठमाडौं। नेपाली बजारमा सुन प्रति तोला २ लाख ६० हजार रुपैयाँबाट पनि उकालो लागेको छ। लगातार बढेको कारोबार मूल्यमा अघिल्लो दिनका तुलनामा १ हजार ९ सय रुपैयाँ बढेको छ।
सुन तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। लगातार उच्च भएको सुनको मूल्यले बढोत्तरीमा कीर्तिमान बनाएको छ। आइतबार तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँ थियो।
गत शुक्रबारका तुलनामामा आइतबार तोलामा २ हजार २ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। त्यसअघि बिहीबारका तुलनामा शुक्रबार ३ हजार ५ सय रुपैयाँ बढेको थियो। गत साताको प्रारम्भमा सुन तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँ थियो।
मंसिर महिनामा सुन तोलामा १७ हजार ४ सय रुपैयाँ बढेको छ। मंसिर १ मा सुन तोलाको २ लाख ४३ हजार ३ सय रुपैयाँ थियो।
चाँदी प्रति तोला ३ हजार ८ सय ७० रुपैयाँ भएको छ। आइतबारका तुलनामा सोमबार तोलामा ५५ रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको हो। चालु महिना चाँदी तोलामा ७ सय १५ रुपैयाँ महँगिएको छ।
डलर बलियो हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार उच्च भइरहेको छ। नेपाली बजारमा अमेरिकी डलर १४४ रुपैयाँ ३७ पैसा पुगेको छ। सोमबार सुन प्रति औंस ४३२६.८१ डलरले कारोबार भइरहेको छ। यो एक दिनमा २८.०९ डलरको बढोत्तरी हो।
चाँदी प्रति औंस ६२.६३ डलर पुगेको छ। चाँदी एक महिनामा प्रति औंस ११.०५ डलर बढेको छ।
बजार विश्लेषकहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य उच्च हुनुका पछाडि एकभन्दा बढी यथार्थ र संरचनागत कारण छन्। पहिलो कारण हो विश्व अर्थतन्त्रमा बढ्दो भूराजनीतिक तनाव। मध्यपूर्व, युक्रेन–रुस युद्ध तथा अन्य क्षेत्रीय द्वन्द्वले लगानीकर्तालाई जोखिमयुक्त सम्पत्तिबाट सुरक्षित आश्रयतर्फ धकेलेको छ, जहाँ सुन प्रमुख विकल्प बनेको छ।
दोस्रो, अमेरिका र युरोपका केन्द्रीय बैंकहरूले ब्याजदर कटौतीको संकेत गरेसँगै डलर कमजोर हुने अपेक्षा बढेको छ, जसले सुनको माग बढाउँछ। तेस्रो, उच्च मुद्रास्फीतिको डर अझै पूर्ण रूपमा हट्न नसक्दा सुनलाई मूल्य संरक्षणको साधनका रूपमा हेरिएको छ। चौथो, चीन, भारतलगायत मुलुकका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रा भण्डारमा सुनको हिस्सा बढाइरहेका छन्, जसले दीर्घकालीन माग सिर्जना गरेको छ।
साथै, सेयर र बन्ड बजारमा अनिश्चितता बढ्दा संस्थागत लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्। यी सबै कारणले सुनको मूल्य अहिले ऐतिहासिक उच्च तहमा पुगेको हो।











