राहदानी विभागले ७ लाख पासपोर्ट किन्न गर्‍यो सम्झौता, पहिलो किस्ता तीन साताभित्र आउने

बिजमाण्डू
२०८२ मंसिर ५ गते २०:०० | Nov 21, 2025
राहदानी विभागले ७ लाख पासपोर्ट किन्न गर्‍यो सम्झौता, पहिलो किस्ता तीन साताभित्र आउने


काठमाडौं। राहदानी विभागले मन्त्रिपरिषद्को निर्णय लगत्तै ७ लाख थान पासपोर्ट किन्न सम्झौता गरेको छ। विभागले फ्रान्सेली कम्पनी आइडिमियासँग ७ लाख थान पासपोर्ट आपू्र्तिका लागि सम्झौता गरेको हो।

Vigo
GBIME
Tata

सम्झौता अनुसार तीन साताभित्र पासपोर्टको पहिलो किस्ता आउने र त्यसपछि संख्या क्रमश: थपिने विभागले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

विभागले आइडिमियासँग पुरानै मूल्यमा नबढ्ने गरी ७ लाख विद्युतीय पासपोर्ट खरिदको सम्झौता गरेको हो। अब सेवाग्राहीले अनिश्चितकालसम्म कुर्नुपर्ने अवस्था अन्त्य भएको विभागले जनाएको छ। विभागले विज्ञप्तिमा राहदानी उत्पादन कटौती हटाएको उल्लेख गरेको छ।

यसअघि मौज्दात सकिँदै गएको र वैकल्पिक व्यवस्थापन गर्न नसकेको कारण विभागले दैनिक एक हजार पासपोर्ट उपलब्ध गराउँदै आएको थियो।

अभाव अन्त्यका लागि फ्रान्सेली कम्पनीसँग ७ लाख थान पासपोर्ट किन्ने निर्णय शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।