महासंघले जाँचबुझ आयोगलाई भन्यो- निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति चाहिन्छ



बिजमाण्डू
२०८२ मंसिर १ गते १७:५४ | Nov 17, 2025
महासंघले जाँचबुझ आयोगलाई भन्यो- निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति चाहिन्छ


काठमाडौं। जेनजी आन्दोलनमा भएको दमन र तोडफोड तथा आगजनी छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेको छ।

Vigo
GBIME
Tata

आयोगका पदाधिकारीले सोमबार महासंघको कार्यालयमा पुगेर आन्दोलनका क्रममा निजी क्षेत्रले ब्यहोरेको क्षति लगायत विषयमा छलफल गरेका हुन्।

महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकोले निजी क्षेत्रको सुरक्षालाई राज्यले प्राथमिकता दिनुपर्ने बताए। उनले विधिको शासनको पूर्ण पालन र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक कदम चालिनु पर्नेमा जोड दिए।

‘निजी क्षेत्रले आफ्ना लागि मात्र काम गरको हुँदैन। राजस्व र रोजगारीमा योगदान दिएको हुन्छ। निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो भन्ने विषयलाई सरकार, आयोग, राजनतिक दल तथा आम नागरिकहरुले पनि बुझ्न र बुझाउन आवश्यक छ,’ ढकालले भने।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनाका सबै पक्ष समेटेर प्रतिवेदन तयार पारिने र ती सुझाव भोलिका दिनमा नीति निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्र अर्थतन्त्रको सम्बाहक भएकाले यो क्षेत्रको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए।

छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरत आचार्य तथा आयोगका सदस्य विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सहभागी थिए।