धेरै कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरुङ भन्छन्, ‘म कोहीबाट लिन्न, दिन्छु मात्रै’



बिजमाण्डू
२०८२ मंसिर १ गते १०:०५ | Nov 17, 2025
धेरै कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरुङ भन्छन्, ‘म कोहीबाट लिन्न, दिन्छु मात्रै’

काठमाडौं। भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले कर तिर्ने जिम्मेवारीमा कहिल्यै पछि नहटेको बताएका छन्। उत्कृष्ट करदाता सम्मान समारोहमा सोमबार बोल्दै उनले देशलाई योगदान दिन सकिन्छ भने आफू सधैं अगाडि रहने बताउँदै कर तिर्ने संस्कृतिलाई मजबुत बनाउन सबैलाई आग्रह गरे।

Tata
GBIME
Nepal Life

‘देशको राजस्व खातामा कम पैसा जम्मा गरौँ भन्ने कहिल्यै लागेन। कति सक्यो धेरै तिरेँ भन्ने लाग्छ। हामीले तिरेको पैसाले नै देश बन्ने हो। घुमेर त्यो फाइदा हामीलाई नै हो,’ उनले भने। कर तिर्नु केवल कानुनी जिम्मेवारी मात्र नभई राष्ट्र निर्माणको स्थायी आधार भएको उनले उल्लेख गरे।

उनले भाटभटेनी व्यापारसम्बन्धी पछिल्लो चुनौतीबारे पनि बताए। जेनजी आन्दोलमा दसैंतिहारको सिजनका लागि धेरै सामान क्षति भएको बताउँदै उनले यसको पछाडि ‘कुनै पार्टीलाई जग्गा दान दिएको’ भन्ने हल्लाले असर गरेको उल्लेख गरे। ‘म कोहीबाट लिन्न, दिन्छु मात्रै। भाटभटेनीले कमाउँदैन मात्रै दान पनि गर्छ,’ उनले भने।

गुरुङले सामाजिक उत्तरदायित्वका थुप्रै उदाहरणहरू पनि दिए। उनले विभिन्न स्वास्थ्य संस्थाहरू टिचिङ अस्पताल र डा. भगवान कोइरालाद्वारा स्थापित बाल अस्पताललाई निरन्तर दान गर्दै आएका छन्। त्यस्तै, दुर्गम क्षेत्रका सयौँ विद्यार्थीलाई एमबीबीएस अध्ययन गराउन आर्थिक सहयोग गरेको उल्लेख गर्दै उनले निजी क्षेत्र केवल नाफामुखी मात्र नभई सामाजिक योगदानकर्ताका रूपमा पनि उभिन सक्छ भन्ने उदाहरण राखे। ‘मैले टिचिङ अस्पताल, भगवान कोइरालाको अस्पतालदेखि धेरैलाई दान दिएको छु। दुर्गमका सयौँलाई एमबीबीएस पढाएको छु। तर पनि हामीले हिम्मत गरेका छौँ,’ उनले भने।

व्यापारिक चुनौती, बैंक ऋण र हजारौँ कर्मचारीको जिम्मेवारी बीच पनि आफूहरू हिम्मतका साथ अगाडि बढिरहेको उनले बताए। ‘हामीमा व्यवसायको, बैंक लोनको, रोजगारदाताको जिम्मेवारी छ। देशको जिम्मेवारी छ,’ गुरुङले भने। यी सबै चुनौतीलाई ‘मिठो दुखाइ’ का रूपमा लिएर देशमै लगानी गर्न सबैलाई आग्रह गर्दै उनले थपे, ‘यो अप्ठ्यारोलाई ‘स्विट पेन’ सम्झेर सबैले यही देशमा लगानी गरौँ, यही देशको लागि केही गरौँ।’