काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले न्यारोबडी जहाजमा प्रयोग गरेको लिजको इन्जिनको भाडा इजरायली कम्पनी आईएआईलाई नतिरेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई जवाफ पठाएको छ।
एनएसीले भाडा भुक्तानी गर्ने विषयमा छलफल भइरहेको र चाँडो निर्णयमा पुग्ने जवाफ पठाएको हो।
‘इन्जिनको भाडा र मर्मतबापतको रकम भुक्तानी गर्ने सम्बन्धमा आईएआईसँग छलफल भइरहेको छ। यस विषयमा २४ गतेको बोर्ड बैठकमा समेत छलफल भइसकेको हुँदा हामी दुई पक्ष चाँडै नै निर्क्योलमा पुग्नेछौं,’ एनएसीले पठाएको पत्रमा भनिएको छ।
क्यानले कात्तिक १७ गते भाडा भुक्तानी नगरेको विषयमा जवाफ मागेको थियो। क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एनएसीको जवाफ चित्तबुझ्दो नरहेको बताए।
‘हामीले सोधेको १० दिनपछि जवाफ आएको। तर चित्तबुझ्दो छैन,’ उनले भने, ‘यसबारेमा हामी पनि छलफल गर्दैछौं।’
प्राधिकरणले निगमसँग न्यारोबडी जाहाजमा प्रयोग गरेको लिजको इन्जिन फिर्ता नगरेको र भाडा नतिरेको विषयमा जवाफ मागेको थियो।
एनएसीले आफ्नो ९एन एकेएक्स कलसाइनको न्यारोबडी जहाजमा २०८० माघदेखि आइएआईको लिजको इन्जिन प्रयोग गरिरहेको छ। आफ्नो इन्जिन भने एनएसीले आइएआईमा राखेको छ।
आइएआईले इन्जिनको भाडाबापत ३१ लाख ३६ हजार ५१२ डलर अर्थात साढे ४४ करोड रुपैयाँ नपाएकाले लिज सम्झौता रद्द गरेको भन्दै कात्तिकको सुरुमा पत्र पठाएको थियो।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो इन्जिन ल्याउन र भाडाको इन्जिन फिर्ता गर्न एनएसीलाई कात्तिक २७ गते निर्देशन दिएकी थिइन्।
आईएआई एनएसीले आफ्ना जहाज मर्मत सम्भार गर्दै आएको कम्पनी हो। एनएसीका यसअघिका अध्यक्ष युवराज अधिकारीमाथि कमिसनका लागि आईएआईबाट लिजमा इन्जिन ल्याएको आरोप लाग्दै आएको छ। उनको चार वर्षे कार्यकाल यही कात्तिक ७ गते सकिएको थियो।











