खाजा घरमा भेटिएको गनको ‘ट्रेल’ पछ्याउँदै जब प्रहरी राजा तामाङको डेरासम्म पुग्यो …



बिजमाण्डू
२०८२ कात्तिक १६ गते १४:४४ | Nov 2, 2025
खाजा घरमा भेटिएको गनको ‘ट्रेल’ पछ्याउँदै जब प्रहरी राजा तामाङको डेरासम्म पुग्यो …


काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

काभ्रेपलान्चोकको महाभारत गाउँपालिका-१ घर भएका २२ वर्षीय राजा तामाङ भनिने वाङ्सु लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले जेनजी प्रदर्शनमा प्रहरीबाट लुटिएको हतियार राखेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहीबार प्रहरीले काठमाडौं महानगरपालिका-७, लाहुरे टोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लाष्टिकको कुर्सीमाथि रहेको कालो झोलामा ग्यास गनको बट र नालको भाग छुट्टाछुट्टै रहेको अवस्थामा भेटेको थियो। त्यसपछि अनुसन्धान गर्दा झोला राजा तामाङले राखेको खुलेको थियो।

प्रहरीले उनलाई खोज्दै जाँदा उनको डेराबाट थप ३ थान गोली समेत बरामद गरेको छ।

अनुसन्धानका क्रममा उनी यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्न भएको भेटिएको छ। उनी ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतको आदेशानुसार साउन ७ गते पुर्पक्षका लागि सुन्धारा कारागार चलान भएका थिए। उनी भदौ २४ गते कारागारबाट फरार भएको खुलेको छ।