काठमाडौं। जेनजीको आन्दोलनले सत्ता परिवर्तन भएपछि अहिले कतिपय युवाले सरकारी कार्यालयमा मच्चाउन थालेको आतंकले कुनैबेला वाइसीएलको नाममा भएको अराजकताको स्मरण गराएको छ।
जेनजीका नाममा सरकारी कार्यालयमा पुगेर कतिपय युवाले मनपरी प्रश्न सोध्नुका साथै कार्यालय प्रमुखको राजीनामा मागेर मच्चाउन थालेको आतंकले २०६४ सालताका वाइसीएलले उत्पन्न गराएको त्रासको सम्झना गराएको हो।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलले अहिलेको परिस्थितिलाई तुलना गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६४ को निर्वाचनपछि वाइसीएलको जताततै रजगज थियो। अहिले जेनजीको पनि त्यस्तै चाला देखिँदैछ।’
हुन पनि शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ सालमा माओवादीको भ्रातृ संस्था वाइसीएलको आतंक थियो। कर्मचारीलाई कालोमोसो दल्नेदेखि कानुन हातमा लिने प्रयास वाइसीएलबाट हुँदा तत्कालीन सरकार मूकदर्शक बनेको थियो। त्यतिखेर सागरका नामले चिनिने वाइसीएलका नेता चन्द्रबहादुर थापाले ठूलै रजगज चलाएका थिए। अहिले उनी गुमनाम छन्।
डेढ दशकअघिको वाइसीएलकै झल्को दिने गरी अहिले जेनजीका नाममा ज्ञापनपत्र बुझाउन भनेर सरकारी कार्यालयमा पुग्ने युवाका अराजक गतिविधिले कर्मचारीमा त्रासको वातावरण सिर्जना भएको छ। त्यस्ता अराजक युवाबारे खबर गर्दा पनि प्रहरीले नियन्त्रणमा लिएको छैन। प्रहरी आफैँ मुकदर्शक बनिरहेको छ।
+++
आइतबार दिउँसो सवा १ बजे त्रिपुरेश्वरमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा नेतृत्व नखुलेको जेनजी समूह प्रवेश गर्यो। १२ जनाभन्दा बढीको समूहका रहेका युवाले कानुन विपरीतका माग गर्न थालेपछि प्रहरीकहाँ खबर पुग्यो।
खबर लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंबाट टोली परिचालित भयो। प्रहरीले हुलहुज्जत गर्ने ८ जनालाई नियन्त्रणमा लियो। तर उनीहरू माथि थप अनुसन्धान र कारवाही भएन। प्रहरीले आफन्तको जिम्मा लगाएर ती युवालाई छोडिदियो।
नेपाल नागरिक उड्डयन प्राधिकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायुसेवा निगम र पोखराका केही कार्यालयमा पनि जेनजीका नाममा अराजक गतिविधि भएका छन्।

कार्यालय प्रमुखलाई तत्काल बोलाउनुपर्यो भनेर कर्मचारीलाई थर्काउने गतिविधि प्रहरीकै सामुसमेत भएका छन्।
भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिएका कारण अहिले राजनीतिक दलहरू खुलेर बाहिर आएका छैनन्। त्यसको फाइदा कसैको पनि नियन्त्रणमा नरहेका अराजक समूहले उठाउन खोजेका छन्। त्यस्ता समूहले कतिपय कार्यालयमा जेनजी भन्दै होडिङ बोर्ड समेत राख्न थालेका छन्।
गत आइतबार सवा ५ बजे तीनकुनेमा भेला भएका युवाले चोकको नाम जेनजी चोक राख्न खोजे। उनीहरूको हर्कतबाट असन्तुष्ट स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरी तत्कालै पुग्यो। झापाको दमक घर भएका अभिन लिम्बु, अनिश त्रिपाठी र सुनिल विष्ट समातिए। ती युवालाई प्रहरीले परिवारको जिम्मा लगायो।
सोसल मिडिया र मुलधारको टेलिभिजनमा समेत अन्तर्वार्ता दिन पुगेका अछामका अर्जुनबहादुर शाहीको समूहले अख्तियार, नेपाल वायुसेवा नियम र नागरिक उड्डयन प्राधिकरण जस्ता संस्थामा पुगेर अभद्र व्यवहार गर्यो। अर्जुन बैंकिङ कसुरदेखि वैदेशिक रोजगारीमा सर्वसाधारणलाई ठग्नेसम्मका केसमा जोडिएका व्यक्ति भएको खुलिसकेको छ।
जेनजीको आवरणमा आतंक मच्चाउने थप व्यक्तिको पृष्ठभूमि आपराधिक भएको खुलासा भइसकेको छ। एकातिर जेलबाट भागेकामध्ये करिब ६ हजार कैदी अझै फरार रहेको र जेनजीको आन्दोलनमा लुटिएका प्रहरीका हतियार फिर्ता नभएको पृष्ठभूमिमा सरकारी कार्यालयमा मच्चाइएको अराजकताले समाज नै आतंकित बन्न पुगेको छ।
तर, जेनजी नाममा भइरहेको अराजक गतिविधिमा प्रहरी कठोररुपमा उत्रिएको छैन। गृह प्रशासनबाट स्पष्ट निर्देशन नपाएका कारण निरीह हुनुपरेको प्रहरी अधिकृतहरु बताउँछन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले अराजक गतिविधि गर्ने कतिपयरुलाई नियन्त्रणमा लिइरहेको बताए। ‘जेनजीको नाममा विभिन्न कार्यालयमा हुलहुज्जत गरेको पाइएको छ। हामीले केहीलाई नियन्त्रणमा लिएका पनि छौं,’ एसपी भट्टराईले भने।
+++
जसरी पहिलो संविधानसभा निर्वाचनको समयमा वाइसीएलको भय थियो, अहिले जेनजीका नाममा करिब त्यस्तै परिस्थिति देखिएको छ। जेनजीको आन्दोलनको बलमा बनेको सरकार आफैं अलमलमा छ। जेनजीका नाममा अनेक समूहले अनेक माग राखेका कारण सरकार नै दबाबमा देखिन्छ।
गृह प्रशासन कठोर बन्ने मुडमा देखिएको छैन। प्रहरी त भदौ २४ गतेको घटनामा हतियार र बर्दीसम्म लुटिएका कारण निक्कै निरीह अवस्थामा पुगेको छ।
चन्दा आतंकमा पनि जेनजी !
जेनजी नामकै समूहले प्रधानमन्त्रीको हवाला दिँदै विभिन्न परियोजना, कोष तथा सामाजिक संस्थाको कार्यालयमा पुगेर चन्दा माग्न भ्याइसकेको छ।
जेनजी भन्दै उपचारका लागि चन्दा उठाउने समूह सक्रिय भएपछि प्रधानमन्त्री सुशीला कार्की आफैंले विज्ञप्ति जारी गर्नुपर्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाममा चन्दा सङ्कलन नगर्न सोमबार सचेत गरायो।
‘दुई तीन दिनदेखि यस्तो गतिविधि भएको जानकारी आयो। त्यसपछि हामीले विज्ञप्ति निकालेका हौं,’ प्रधानमन्त्री कार्यालयका सहसचिव रविलाल शर्मा भने।
विभिन्न व्यावसायिक घरानामा पनि जेनजी भन्दै वाइसीएलकै शैलीमा चन्दा माग्न थालिएको गुनासो आउन थलेको छ। प्रहरीका अनुसार यस्ता केसमा अहिलेसम्म उजुरी भने परेको छैन।
प्रधानमन्त्रीको नाम जोडेर चन्दा संकलन गरिएको केस बाहेकका अराजक गतिविधिमा सरकारले अझै मौनता साँधिरहेको छ। जसको अवसर आपराधिक पृष्ठभूमिका व्यक्तिले समेत जेनजीका नाममा कानुन हातमा लिएर अराजकतालाई बढावा दिइरहेका छन्।










