पूर्वाधारका सबै परियोजनाले निरन्तरता पाउने, ओली सरकारमा आएपछि ३६६३ किमि सडक कालोपत्रे

बिजमाण्डू
२०७७ जेठ २ गते १८:२८ | May 15, 2020


काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि कुल तीन हजार ६ सय ६३ किमि सडक कालोपत्रे भएको छ।

GBIME
Tata

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएकी हुन्। उनका अनुसार यो वर्ष तीन सय २५ वटा पुल र सडक निर्माण पूरा भएको छ। 

आगामी वर्ष तीन सय पुल र सडक निर्माण गरिने बताइएकाे छ। सडक कालोपत्रे गर्ने कार्यलाई पनि तीव्रता दिँदै आउँदाे वर्ष तीन सय किमि सडक कालोपत्रे गरिने भनिएकाे छ। हुलाकी राजमार्गमा २५० किमि, कालीगण्डकी करिडोरको ९० किमि कालोपत्रे गरिने भण्डारीले बताइन्। मदन भण्डारी राजमार्गलाई पाँच वर्षमा पूरा गर्ने गरी आगामी वर्ष १२५ किमि सडक कालोपत्रे  गर्नुका साथै धरान-झापा खण्डको पुल र सडक निर्माण थालिने बताइएकाे छ। 

पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्ड चार लेनमा विस्तार गर्ने कार्य शुरु भएको छ। यही राजमार्गको कमला-कन्चनपुर र नरायणगढ-बुटवललाई तीन वर्षमा पूरा गर्ने सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख भएकाे छ। सम्पूर्ण राजमार्गलाई द्रुतमार्गमा स्तरोन्नति गरिने सरकारले लक्ष्य लिएको छ। 

काठमाडौं-तराइ/मधेस द्रुतमार्ग आयोजना आगामी  तीन वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ। आगामी आर्थिक वर्षमा माइलस्टोन मानिएको आयोजनाको सुरुङमार्ग र पुल निर्माण शुरु गर्ने बताइएकाे छ। 

तीन वर्षमा मध्यपहाडी राजमार्ग तयार पारिसक्ने  नीति तथा कार्यक्रममा समेटिएकाे छ। कोशी र कर्णाली करिडोरको ट्रयाक खुलेकाले आगामी वर्षबाट स्तरोन्नतीको काम थालिने भण्डारीले उल्लेख गरिन्।