काठमाडौं । आइतबार दिउँसो करिब साढे १ बजे केन्द्रीय अनुसन्धान ब्यूरोको टोली ललितपुरको जावलाखेलमा रहेको भुषण राणाको घरमा पुग्यो। एउटै कम्पाउन्डमा रहेको घर र होटलमा रकम भएको जानकारी अनुसार सादा पोशाकमा टोली पुगेको थियो। यो छापाको सूचना भने रातिमात्रै संचारमाध्यमा आयो।
भूषण राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सालो हुन्। आरजु राणा उनको दिदी हुन्। जेनजी प्रदर्शनपछि देउवा र आरजु सार्वजनिक भएका छैनन्। त्यसबीच प्रहरी किन भूषण राणाको घरमा पुग्यो भन्ने चासो सर्वत्र छ।
जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवास पनि जलाइएको थियो। घरभित्र धेरै नै रकम जलेको भिडियो सामाजिक संजालमा भाइरल भए। त्यसैको आधारमा नयाँ सरकार गठन भएपछि देउवा दम्पती विरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको छ।
देउवा सरकार र शक्तिमा हुँदा भुषण राणाले बिचौलियाझैं कारोबार गर्ने गरेको सूचनाको आधारमा उनको घरमा प्रहरी पुगेको हो। घरमा रकम र सम्पत्ति शुद्धीकरणको विषयमा जोडिएका प्रमाण खोज्न प्रहरी पुगेको थियो। तर, प्रहरीले घरमा कसैलाई फेला पारे।
‘दिउँसो गएका हौं। तर, उहाँको परिवार केही महिनादेखि नभएको भन्ने देखियो,’ सीइआबीका प्रमुख एआइजी मनोज केसीले भने।
प्रहरी पुग्दा घरमा केही काम गर्ने कामदार मात्र थिए। घर मालिक नभएको कारण प्रहरीले निगरानी गरेर फर्किएको एआइजी केसीको दाबी छ। प्रहरीले चाहेको खण्डमा स्थानीय जनप्रतिनिधि लगायतका व्यक्ति राखेर पनि घर खानतलासी गर्न भने सक्छ।अहिले भने भूषण राणाको घर प्रहरीको निगरानीमा नै छ।

आरजु राणा सम्पत्ति शुद्धीकरणसँगै भुटानी शरणार्थीको मुद्दामा मुछिएकी छन्। दुई पटकको पुरक अनुसन्धानमा उनीसँगको ‘कनेक्सन’ देखिने प्रमाण भने फेला परेको थिएन। जसकारण काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई प्रतिवादी बनाएन। त्यसबेला धेरैले प्रश्न गरे : प्रमाणले देखाएन वा सरकारी शक्ति सामु प्रहरी झुक्यो? धेरैले शक्ति आडमा नै अनुसन्धान नभएको तर्क गरेका थिए।
गृह मन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्हालेपछि भुटानी शरणार्थीमा आरजुको नाम खुबै चल्यो। तर, उनीहरु लामिछानले पनि ‘एक्सन’ लिन सकेनन्। आरजुसँग जडिएका भनिएका बेचन झा चाँही सामातिए। तर, उनको इन्कारी बयान र थप प्रमाण नभेटिँदा केस अगाडी बढ्न सकेन।
२०७८ असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकमा भुटानी शरणार्थी प्रकरणमा बिचौलियालाई काम लाग्ने निर्णय गराउने भूमिकामा झा देखिएको बयान यसअघि पक्राउ परेका व्यक्तिले दिएका थिए।
अहिले अन्तरिम सरकार बनेपछि भुटानी शरणार्थीको केसको फाइल फेरि खुल्ने देखिन्छ। र, अनुसन्धानका क्रममा सबैभन्दा प्रमुख पात्र हुनेछिन् आरजु। शरणार्थी प्रकरणमा २०८० जेठ १० गते जिल्ला अदालत काठमाडौंमा संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखित किर्तेमा ३० जना प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। तर, अहिलेसम्म अन्तिम सुनुवाइ भएको छैन।
यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन सचिव लगायत हाइप्रोफाइल नेता पक्राउ परेका थिए। केही धरौटीमा छुटे पनि रायमाझी, पूर्वसचिव लगायत केही अझै कारागारमा छन्।
शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले सीआइबीमा पुगेर राजनितिक आडमा रोकिएका अनुसन्धान सुरु गर्न निर्देशन दिएका थिए। त्यसैले अब भुटानी शरणार्थी मुद्दा के हुन्छ भन्ने चर्चा चलेको छ।
धेरैको प्रश्न छ : आइतबार भूषण राणाको घरमा छापा हान्नु पछि भुटानी शरणार्थी केस पनि हो ?
‘यो भुटानी शरणार्थी केस होइन। रकमसँग जोडिएको हो,’ एआइजी मनोज केसीले भने।
सम्पति शुद्धीकरण विभागले पूर्व ऊर्जा मन्त्री दिपक खड्का, नेकपा माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली माथि पनि अनुसन्धान गरिरहेको छ। त्यस्तै, उनीहरुसँग जोडिएका व्यक्ति, रकम वा स्रोत नखुल्ने सम्पत्तिको विषयमा पनि निगरानी बढाएको छ।
‘दैनिक यहाँ उहाँ पैसा छ भन्ने आउँछ। तर, राणा अलि हाइप्रोफाइल भएकाले चर्चा भयो। केहीदिनदेखि सूचनामा काम भइरहेको छ,’ एक उच्च प्रहरी अधिकृतले सुनाए।
नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सम्पति शुद्धीकरण विभागलाई अर्थमा ल्याइएको छ।











