काठमाडौं। जेनजी आन्दोलनका क्रममा लुटपाट र चोरीमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित एक घरमा ढुङ्गामुढा, तोडफोड, आगजनी गरी घरकोठाबाट नगद, सुनचाँदी लगायतका धनमाल चोरी भएको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
प्रहरीले भदौ ३१ गते साँझ साढे ४ बजे रातोपुलमै संकास्पद गतिविधि गरिरहेका ३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। उनीहरूको साथबाट र डेराबाट सुन, चाँदी लगायत विभिन्न सामान बरामद गरिएको छ।
पक्राउ पर्नेमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका-३ स्थायी घर भई हाल रातोपुल बस्ने २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका-७ बस्ने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुर हेटौँडा उपमहानगरपालिका-५ स्थायी घर भई हाल रातोपुल बस्ने १८ वर्षीय अगम प्रजा हुन्।
प्रहरीले सुनचाँदीका गहना, विभिन्न सिक्का, पर्स, झोला, कपडा, धार्मिक मूर्ति, माला, धातुका विभिन्न सामान, गिफ्ट, कार्ड, ब्रेसलेट, औंठी, लकेट, सिक्री र नगद १३ हजार ८ सय ५० रुपैयाँ वरामद गरेको छ।

परिसरले पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई प्रहरी वृत्त मालिगाउँमा राखिएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी छ।










