वित्तीय क्षेत्रमा शंकास्पद कारोबार बढ्न थाल्यो, वर्षदिनमै ६५ प्रतिशतले बढ्यो, चोरीका घटना धेरै

बिजमाण्डू
२०७६ पुष २९ गते १०:२० | Jan 14, 2020
वित्तीय क्षेत्रमा शंकास्पद कारोबार बढ्न थाल्यो, वर्षदिनमै ६५ प्रतिशतले बढ्यो, चोरीका घटना धेरै


काठमाडौं। बैंकिङ प्रणालीमा शंकास्पद कारोबार गर्नेहरूको संख्या बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइ (एफआइयु) ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशतले शंकास्पद कारोबार बढेको छ।

Tata
GBIME

अघिल्लो बर्ष शंकास्पद कारोबारको उजुरी (एसटीआर) ८८७ वटा भएकोमा यसपाली १३ सय ५१ पुगेको छ। यसमध्ये  एफआइयुले ६ सय ७७ वटामाथि अनुसन्धान गरेको छ। २ सय ७ वटा सम्बन्धि निकायहरूमा पठाइदिएको छ भने ४ सय ७० वटा तामेलीमा राखिएको छ।

एफआइयुका अनुसार, एसटीआरमध्ये अधिकांश चोरीसँग सम्बन्धित छ। शंकास्पद आतंकवादी गतिविधिको एकदमै न्यून रहेको प्रतिवेदनमा उल्लेख छ। 

थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोर्टस् (टीटीआर) पनि अचाक्ली बढेको छ। यो भनेको तोकिएको थ्रेसहोल्ड भन्दा बढिको कारोबार हो, जुन शंकास्पद नहुन सक्छ। अघिल्लो वर्ष ४५ लाख ९३ हजार ८१७ वटा टीटीआर भएकोमा यसपाली ५३ लाख ६४ हजार ९ सय ४९ वटा भएको छ। पाँचवटा निकायमा भएको कारोबार हो यो।

बैंक तथा वित्तीय संस्थामा ५१ लाख ८१ हजार २ सय छ भने सरकारी निकायमा १२ हजार २ सय ३७ वटा छ।

यसैगरी बीमा कम्पनीमा १ लाख २४ हजार ७ सय ८९ वटा छ। धितोपत्र बजारमा टीटीआर ३३ हजार ९ सय १२ वटा छ भने अन्यमा १२ हजार ८ ११ वटा छ। यसभित्र सहकारी संस्थादेखि रेमिटेन्स कम्पनी र मनि चेञ्चर पनि पर्छन्।