प्राधिकरणले भन्यो- लक्ष्य निर्धारणमा नवीकरणीय र म्यादी जीवन बीमा शुल्कलाई अनिवार्य समावेश गर्नू



बिजमाण्डू
२०८२ असार ३० गते १५:४७ | Jul 14, 2025
प्राधिकरणले भन्यो- लक्ष्य निर्धारणमा नवीकरणीय र म्यादी जीवन बीमा शुल्कलाई अनिवार्य समावेश गर्नू


काठमाडौं। नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कम्पनीलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमा शुल्कका अतिरिक्त नवीकरण बीमा शुल्क तथा म्यादी जीवन बीमा शुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ।

Tata
GBIME

इन्स्योरेन्स कम्पनीहरुलाई परिपत्र जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

प्राधिकरणले कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यावसायिक लक्ष्य (आवधिकरूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य) निर्धारण गर्दा प्रथम बीमा शुल्कका अतिरिक्त नवीकरण बीमा शुल्क तथा म्यादी जीवन बीमा शुल्कलाई समेत अनिवार्य समावेश गर्न भनेको छ।

बीमकहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमा शुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेको गुनासा आएपछि प्राधिकरणले परिपत्र जारी गरेको हो।

कम्पनीहरु ठूलो रकमको बीमा शुल्क संकलनमा केन्द्रित हुँदा बीमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको प्राधिकरणको विश्लेषण छ।

बीमा अवधि नपुग्दै बीमालेख समर्पण हुने समस्या देखिएकाले यस्तो निर्देशन दिनु परेको प्राधिकरणको भनाइ छ।