एयर इन्डिया किन्ने टाटा ग्रुपको तयारी, एयर इन्डिया बिलय हुँदा टाटालाई के फाइदा पुग्छ?

बिजमाण्डू
२०७६ कात्तिक १९ गते १२:१० | Nov 5, 2019


 सरकारीकरण भएको ६६ वर्षपछि भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डिया फेरि निजी क्षेत्रकै पोल्टामा जाने भएको छ।

Tata
GBIME
Nepal Life

एयर इन्डियालाई लिलामी प्रक्रियामा लैजाने सरकारको संकेतपछि ८७ वर्ष अघि एयर इन्डिया स्थापना गर्ने टाटा समूहले नै यसको लिलामी सकार्ने संकेत दिएको छ।

टाइम्स अफ इन्डियासँगको कुराकानीमा टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले एयर इन्डियाको लिलामी प्रक्रियामा भाग लिने जानकारी दिए । उनले आफ्नो टिमलाई छिट्टै नै एयर इन्डियाको मूल्यांकन गर्न भन्ने पनि बताए।

'हामी भिस्तारा र एयर एशिया बाहेक अन्य एयरलाइन्स चलाउने छैनौं। त्यसैले हाम्रो लक्ष्य बिलय नै हुनेछ।'- उनले भने ।

सरकारले एयर इन्डियाको पूरै शेयर बेच्ने तयारी गरिसकेको छ। यसअघि सरकारले एयर इन्डियामा २४ प्रतिशत शेयर कायम राखी बाँकी बेच्ने बताइरहेको थियो। तर यसको ब्यापक बिरोध भयो र आंशिक शेयर किन्ने क्रेता पनि भेटिएनन्।

सन् १९३२ मा जे आर डी टाटाले एयर इन्डियाको सुरुवात गरेका थिए । गतवर्ष सरकारले एयर इन्डियाको ७६ प्रतिशत शेयर बेच्ने प्रक्रिया सार्वजनिक गर्दा पनि टाटा समूहले किन्ने इच्छा देखाएको थियो। तर पछि टाटा समूह यो प्रक्रियामा सहभागी भएन।

टाटा ग्रुपले भिस्तारा र एयर एशिया एयरलाइन्स संचालन गर्दै आएको छ। तर दुबै कम्पनीबाट ग्रुपलाई सन् २०१९ मा १५ सय करोड भारतीय रुपैयाँ नोक्सान भएको छ।

टाटा ग्रुपले एयर इन्डिया किनेर त्यसलाई भिस्तारामा बिलय गर्ने योजना बनाएको छ। संभावित बिलयले कम्पनीलाई फाइदा पुग्नेछ।  किनभने भिस्तारालाई एयर इन्डियाको धेरैजसो अन्तराष्ट्रिय रुटहरुमा उडान गर्ने अवसर पाउनेछ।

जेआरडी टाटाले सन् १९३२ मा टाटा एयरलाइन्सको स्थापना गरी कराँचीबाट बम्बइसम्म आफैंले हवाइजहाज उडाएर ल्याएका थिए। सन् १९४६ मा टाटा एयरलाइन्स पब्लिक कम्पनी भयो। यसको नाम बदलेर एयर इन्डिया राखियो। सन् १९५३ मा एयरलाइन्सलाई सरकारले किन्यो।

सरकारले किनेपनि सन् १९७८ सम्म यो एयरलाइन्स मा जेआरडी टाटा संलग्न भैरहे। अब फेरि टाटा कम्पनीकै पोल्टामा जाने संकेत यस ग्रुपका अध्यक्ष एन चन्द्रशेखरनले गरेका छन्।