इन्स्योरेन्स कम्पनीमाथि बीमितलाई हैरान पारेको आरोप, बीमा प्राधिकरणले गरायो सचेत



बिजमाण्डू
२०८२ असार १८ गते १८:२९ | Jul 2, 2025
इन्स्योरेन्स कम्पनीमाथि बीमितलाई हैरान पारेको आरोप, बीमा प्राधिकरणले गरायो सचेत

काठमाडौं। बीमितलाई हैरानी हुने काम गरेको गुनासो आएपछि नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुलाई सचेत गराएको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले बीमालेखका सर्त बमोजिम दायित्व निर्धारणमा ढिलाई तथा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेको भन्दै सचेत गराएको हो।

प्राधिकरओका अनुसार इन्स्योरेन्स कम्पनीविरुद्ध अनेक खालका उजुरी परेका छन्।

‘बीमकहरुले बीमालेखका सर्त बमोजिम दायित्व निर्धारणमा बेमनासिव ढिलाई गरेको, बीमितलाई मर्का पर्ने किसिमले दायित्व निर्धारण गरेको, क्षति मूल्याङ्कनका लागि समयमै सर्भेयर नखटाएको तथा खटिएका बीमा सर्भेयरले क्षतिको मूल्याङ्कन प्रतिवेदन समयमा नबुझाएको, अनावश्यक कागजात माग गरी हैरानी दिएको भन्ने समेतका व्यहोरा राखी गुनासा प्राप्त हुने गरेको छ,’ प्राधिकरणले भनेको छ।

प्राधिकरणले उजुरी बढेपछि कम्पनीहरुलाई सचेत गराएको हो। ‘प्राधिकरणमा प्राप्त हुने जानकारी, विवरण वा निरीक्षण प्रतिवेदनबाट त्यस्तो कार्य भए गरेको पाइएमा सम्बद्ध बीमकलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (३) बमोजिम दुई लाख रूपैयाँदेखि बीस लाख रूपैयाँसम्म जरिवाना तथा सर्भेयरलाई सोही दफाको उपदफा (९) बमोजिम दुई हजार रूपैयाँदेखि पच्चीस हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था प्रति सचेत रही कार्य गर्न हुन सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको छ,’ प्राधिकरणले भनेको छ।