
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको क्रियाकलापबारे टिप्पणी गरेका छन्। भण्डारीले एमालेको नेतृत्वमा दाबी गर्ने चर्चा चलिरहँदा ओलीले त्यसबारे टिप्पणी गरेका हुन्।
मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रियसभा सभागृहमा आयोजना गरेको ‘जबजका तीन दशक’ विषयक अन्तर्क्रिया कार्यक्रममा ओलीले ‘विद्या भण्डारीले बम पड्काने र एमाले ध्वस्त हुन सुरु हुने भनेर केही व्यक्ति सपना देखेर बसेको’ बताए।
‘कुनै बम बारुद गोला पड्कने वाला छैैन, आश नगरे हुन्छ। आश पनि कस्ता-कस्ता?’ ओलीले भने।
ओलीले थपे, ‘पूर्वराष्ट्रपतिले मेरा कुरा पनि सुन्नुहोस् भन्नुहुन्थ्यो, तपाईं राम्रै बोल्नु हुन्छ, कहिले नराम्रो बोल्नु भएको छैन, सधैँ सुनेको छु।’

जबज जपेर मात्रै नबसेको भन्दै ओलीले कार्यान्वयन पनि गरिरहेको बताए। उनले वृक्षारोपण कार्यक्रममा जाँदा राष्ट्रियसभा सभागृहको कार्यक्रम भाँड्न खोजेको आरोप लगाइएको पनि टिप्पणी गरे।
‘यो कार्यक्रम के भाँड्ने? म आउने कार्यक्रम कसरी भाडिन्छ? विद्या भण्डारीजी आउने कार्यक्रम कसरी भाडिन्छ?’ ओलीले प्रश्न गरे।
ओलीले आफू स्पेन जानु पर्ने भएकोले बीचमै समय मागेर बोलेको बताएका थिए।