
काठमाडौं। पाल्पाको रानीमहललाई पुरानै अवस्था झल्किने गरी पुनर्निर्माण गरिने भएको छ। अर्थ मन्त्रालयले यसका लागि गुरुयोजना निर्माण गर्न पुरातत्व विभागलाई निर्देशन दिएको छ।
रानीमहल पुनर्निर्माणबारे छलफल गर्न बिहीबार आफूलाई भेट्न आएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, पाल्पाबाट निर्वाचित सांसद ठाकुर गैरे, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग र पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीसामु अर्थमन्त्री विष्णु पौडेलले गुरुयोजना बनाएर काम अघि बढाउनका लागि बजेट उपलब्ध गराउने बताए।
उनले रानीमहल दुर्लभ मध्येको एउटा महत्वपूर्ण ठाउँ भएको भन्दै पुरानो शैली र आकारसँग सम्बन्धित सामग्री संकलन गरी अध्ययन गर्न, गुरुयोजना बनाउन र सोही अनुसार कार्यान्वयन विधि तयार पार्न पुरातत्व विभागलाई निर्देशन दिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीले दीर्घकालीन योजनाका साथ रानीमहल र त्यस वरपरका क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताए। सांसद ठाकुर गैरेले कालीगण्डकी नदीले रानीमहलको जगलाई कटान गर्नबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताए।
विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले रानीमहलको पुरातात्विक र ऐतिहासिक महत्वलाई जोगाएर पुनर्निर्माण गर्न सकिने बताए। अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले रानीमहलको संरक्षणका लागि स्रोत अभाव हुन नदिने बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
कालीगण्डकी करिडोरकी प्रोजेक्ट म्यानेजर कल्पना अधिकारीले प्रारम्भिक अध्ययनले रानीमहललाई रेट्रोफिटिङ गर्न, नदी कटानबाट जोगाउन, पहिरो व्यवस्थापन गर्न, पुल निर्माण गर्न, पार्किङ क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको देखाएको जानकारी दिइन्।
राणाकालीन समयमा खड्ग शमशेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए।