वीरगंज नाकाबाट ११ महिनामा एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात, कुन कति भित्रियो?

बिजमाण्डू
२०८२ असार ८ गते ०९:३३ | Jun 22, 2025
वीरगंज नाकाबाट ११ महिनामा एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात, कुन कति भित्रियो?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वीरगंज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो मूल्यको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो।

Tata
GBIME

समग्रमा गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब ५ करोडले घटेको छ। सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११.६६ प्रतिशत अर्थात् ७ अर्ब ६४ करोडले बढेको छ।

वीरगंज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ। कार्यालयको राजस्व पेट्रोलियम पदार्थको आयात र  सवारीसाधनको आयातमा निर्भर रहेको छ।

चालु आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड संकलन गरेको छ। जबकि गत आर्थिक वर्षको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड संकलन भएको थियो।

वीरगंज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड मूल्य पर्ने ९ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको थियो। डिजेल आयातबापत कार्यालयले ४१ अर्ब ३ करोड राजस्व संकलन गरेको छभने गत आर्थिक वर्षको सोही अवधिमा भने ३६ अर्ब ४ करोड संकलन गरेको थियो।

त्यसैगरी, चालु आर्थिक वर्षको ११ महिनामा ३५ अर्ब ३४ करोडको चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ। जबकि गत आर्थिक वर्षको ११ महिनामा ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको थियो। पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ७३ करोड संकलन गरेको थियो।

यो नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ। जबकि गत आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब ७१ करोडकोे २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपिजी ग्यास आयात भएको छ। ग्यास आयातबापत ६ अर्ब  २४ करोड राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ग्यास आयातबाट ५ अर्ब १६ करोड संकलन गरेको थियो।

वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब तीन करोड मूल्यको एक लाख ६७ हजार ३९८ किलोलिटर एटिएफ आयात भएको छ। जबकि गत आर्थिक वर्षको ११ महिनामा भने १७ अर्ब ११ करोड मूल्यको एक लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको थियो। एटिएफ आयातबापत २ अर्ब ३५ करोड संकलन गर्न सफल भएको छ। जबकि गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४७ करोड राजस्व संकलन गरेको थियो ।

यो नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा ५९ करोड मूल्य पर्ने ६ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ६३ करोड मूल्यको ६ हजार १२० किलोलिटर मट्टितेल आयात भएको थियो। मट्टितेल आयातबाट १६ करोड राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड नै राजस्व संकलन भएको थियो। रासस