
काठमाडौं। नेपाली क्रिकेट टोलीले स्कटल्याण्डबाट १ सय ९४ रनको विशाल लक्ष्य पाएको छ। स्कटल्याण्डको ग्लास्गोस्थित टिटवुड मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको हो।
घरेलु टोलीका कप्तान रिची बेरिङटनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। नेपालका लागि पहिलो सफलता ३.२ ओभरमा रुपेश सिंहले ९ रन बनाएका मार्क वाटलाई बोल्ड आउट गर्दै दिलाएका थिए। तर, दोस्रो विकेटका लागि भने जर्ज मुन्से र ब्राण्डन म्याकमुलेनले ५६ बलमा १०० रनको साझेदारी गर्दै स्कोर उकासे। जर्जले सर्वाधिध ७८ रन बनाउँदा म्याकमुलेनले ४२ रन बनाए। त्यस्तै, माइकल लिस्क २६ र म्याथ्यु क्रस १७ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान १ विकेट लिए।
आजको खेलमा नेपालले अघिल्लो खेल खेलेको प्लेइङ ११ बाट एक परिवर्तन गरेको छ। पेसर करण केसी बाहिरिएर रिजन ढकाल प्लेइङ ११ मा छन्। ढकालले ३ ओभर बलिङ गरेर ३५ रन दिँदा विकेट भने लिन सकेनन्।
आजको खेलमा जित निकाल्न सके नेपालले नेपालले सिरिज जित्नेछ। नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।