
काठमाठौं। सुनचाँदी व्यवसायीहरुले गहनामा विलासिता कर हटाउनका लागि दबाबस्वरुप साउन १ देखि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विलासिता करका कारण गहना थप महँगो भइ कारोबार घट्ने भन्दै खारेज नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले विलासिता करले सुन उपभोक्ताको क्रय शक्तिभन्दा बढी महङ्गो हुन पुगेको बताए। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा विलासिता कर २ प्रतिशत लगाएको छ। रसाइलीले २ प्रतिशत विलासिता करका कारण सुनको मूल्य ग्राहकलाई तोलामा १२ हजार रुपैयाँ बढी पर्ने हिसाब सुनाए।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले विलासिता कर खारेज नगरिए सुनको अवैध आयात बढ्ने र त्यसले राजस्वमा असर पर्ने चेतावनी दिए।