सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब कर्जा लगानी, ७३ प्रतिशत सेवा क्षेत्रमा, बेरोजगार सबैभन्दा धेरै

बिजमाण्डू
२०८२ असार ५ गते १३:२२ | Jun 19, 2025
सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब कर्जा लगानी, ७३ प्रतिशत सेवा क्षेत्रमा, बेरोजगार सबैभन्दा धेरै

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा कर्जा लगानी झिनोरुपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिममा कर्जा लगानीमा ०.२७ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

Tata
GBIME

सेवा क्षेत्रमा कर्जा लगानी ०.८३ प्रतिशतले बढेर १ खर्ब ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ। यो रकम प्रदेशमा प्रवाह भएको कुल कर्जाको ७२.८४ प्रतिशत हो।

सेवा क्षेत्रमा सबैभन्दा धेरै थोक तथा खुद्रा विक्रेतासम्बन्धी व्यवसायमा ४३.०४, उपभोगमा ३१.९६, शिक्षामा ३.६२, रियल इस्टेटमा ३.२३ र पर्यटनमा ३.०९ प्रतिशत कर्जा लगानी भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जा ०.९७ प्रतिशतले घटेर १६ अर्ब ३६ करोड ८३ लाख रुपैयाँमा झरेको छ। कृषि कर्जामध्ये सबैभन्दा बढी कृषि तथा कृषिजन्य सेवामा १८.३४ प्रतिशत प्रवाह भएको छ।

सुदूरपश्चिममा कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी ६७.०१ प्रतिशत कैलाली र कञ्चनपुरमा २०.४३ प्रतिशत लगानी गरिएको हो। बाजुरामा सबैभन्दा कम १.१० र अछाममा १.३० प्रतिशत कृषि कर्जा गएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा १.३२ प्रतिशतले घटेको छ। सुदूरपश्चिममा कुल कर्जाको १६.४८ प्रतिशत अर्थात २५ अर्ब २६ करोड ४५ लाख रुपैयाँ औद्योगिक क्षेत्रमा प्रवाह गरिएको छ।

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी क्षेत्रमा सबैभन्दा बढी ३८.६५ प्रतिशत लगानी गरिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा निक्षेप खुम्चिएको देखाइएको छ। २०८० पुस मसान्तसम्मको तुलनामा २०८१ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा निक्षेप परिचालन ३.१३ प्रतिशतले खुम्चिएको हो। यो प्रदेशमा १ खर्ब ४४ अर्ब ७८ करोड रुपैयाँ निक्षेप छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशभर ६ लाख ९७ हजार ७२५ जना बेरोजगार सूचीकृत रहेकामा त्यसमध्ये सबैभन्दा धेरै २०.०६ प्रतिशत अर्थात १ लाख ३९ हजार ९३६ जना सुदूरपश्चिमका भएको प्रतिवेदनमा उल्लेख छ।