
काठमाडौं। बैंकहरुले आयात गरेको सुन दुई महिनादेखि बिक्री नभएर स्टक बसेको छ। गत चैतमा आयात भएको सुन व्यवसायीले खरिद नगरेपछि स्टक बसेको हो।
नेपाल बैंकर्स संघका अनुसार यतिबेला बैंकसँग करिब ५८ केजी सुन मौज्दात छ। गत जेठमा पहिलो सातामा बैंकहरुसँग करिब ८८केजी सुन स्टक थियो। एक महिनामा बैंकबाट करिब ३० केजीमात्र सुन उठेको छ। पुरानो सुन स्टक बसेपछि बैंकहरुले आयातका लागि नयाँ सिफारिस लिएका छैनन्।
संघका अनुसार बजेटमा सुनको भन्सार घटबढ हुने भएकाले बैंकहरुले सुन आयातका लागि सिफारिस लिएका थिएनन्।
आव २०८२/८३ को बजेट घोषणासँगै सरकारले सुनमा विलासिता कर लगाइदियो, जसविरुद्ध सुनचाँदी व्यवसायीहरु आन्दोलित छन्। उनीहरुले विलासिता करको प्रावधान फिर्ताको माग गर्दै बैंकबाट सुन उठाएका छैनन्। यसले गर्दा सुनको माग छैन। नयाँ माग नहुँदा बैंकले आयातमा चासो दिएका छैनन्। व्यवसायीले खरिद नगर्दा आयातित सुन पनि स्टकमा बसेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा दैनिक १५ देखि २० केजी सुनको माग छ। तर, बैंकको स्टकबाट खरिद नगरेका व्यवसायीहरु कारोबार कसरी चल्दैछ भन्ने प्रष्ट पार्न मान्दैनन्।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन महँगिदै जाँदा नेपाली बजारमा पनि कारोबार मूल्य तोलाको २ लाख रुपैयाँ नजिक पुगिसकेको छ। आइतबार नेपाली बजारमा सुन प्रति तोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
सुनको मूल्य लगातार उच्च भएसँगै बजार कारोबारमा कमी आएको व्यवसायीले बताएका छन्। सुन महँगिएपछि ग्राहकले नयाँ खरिद घटाएका छन्। पुरानो सुन ल्याएर नयाँ गहना बनाउन थालेका छन्।