
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गतको मलेखु-मुग्लिन खण्ड शुक्रबार रातिदेखि आंशिक रुपमा बन्द रहने भएको छ। आरसीसी बिम (गर्डर) राख्न सडक बन्द गर्न लागिएको नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड)ले सूचनामार्फत जानकारी दिएको छ।
पृथ्वी राजमार्गको मलेखु-मुग्लिन खण्डमा निर्माणाधीन बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा ठूलो साइजको क्रेन प्रयोग गरेर गर्डर राख्न लागिएको योजनाले जनाएको छ।
सो कामका लागि जिल्ला प्रशासन कार्यालय चितवन र धादिङले बिहीबार सडक बन्द गर्ने निर्णय गरेका थिए। सोही निर्णयअनुसार जेठ ३० गतेदेखि असार ७ गतेसम्म राति १०:३० बजेदेखि बिहान ३ बजेसम्म आंशिक रुपमा यातायातका सवारीसाधनहरू रोकिने छन्।
सो क्रममा अत्यावश्यक सवारीसाधनलाई भने आवागमन सहज गरिने बताइएको छ। उक्त अवधिमा मुग्लिनबाट मलेखु छिर्ने भारी सवारी साधनहरू मुग्लिनमा र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छन्। त्यस्तै, मलेखुबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखुमा र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिने छन्।
रोकिएका सबै सवारीसाधनहरूलाई बिहान ३ बजेपछि मात्र छोडिने छ। रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न योजनाले आग्रह गरेको छ।