
काठमाडौं। नेपाली क्रिकेट टोली स्कटल्याण्ड्सँग पराजित भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डको डुन्डीस्थित फोर्थहिल स्टेडियममा आज सम्पन्न रोमाञ्चक खेलमा घरेलु टोलीले नेपालले २ रनले हराएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले नेपाल सामू ३ सय २४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३२१ बलमा अलआउट हुँदा लक्ष्यसम्म पुग्न असफल रह्यो। यद्यपि यो स्कोर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा ठूलो स्कोर हो। यसअघि नेपालले बनाएको ठूलो स्कोर ओमनविरुद्ध थियो। कीर्तिपुरमा सम्पन्न एसीसी प्रिमियर कपको खेलमा कुशल मल्लको सहायतामा नेपालले ३१० रन बनाएको थियो।
नेपालको इनिङ्स
३२४ रनको विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई ओपनरहरुले राम्रो सुरुवात दिलाउन सकेनन्। आशिफ शेख ८ रनमै आउट हुँदा कुशल भुर्तेलले १७ रन बनाएर पभेलियन फर्किए।
नेपालको इनिङ्सलाई माथि लैजान तीन ब्याटरले अर्धशतक बनाए। भीम सार्कीले सर्वाधिक ७३ रन बनाउँदा सोमपाल कामीले ६७ रन र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए। त्यस्तै, आरिफ शेखले ३९ रन बनाए। आजकै खेलबाट दीपेन्द्रसिंह ऐरीले ओडीआईमा हजार रन पुरा गरेका छन्।

बिशाल स्कोर पछ्याएको नेपालले अन्तिम ओभरमा पुग्दासम्म खेलमा बलियो पकड बनाइसकेको थियो। त्यसबेला नेपाल ३१७-८ रनको अवस्थामा थियो। अर्थात अन्तिम ओभरमा ७ रन चाहिएको थियो।
अन्तिम ओभरको पहिलो बलमा करण केसीले दुई रन बनाए। तेस्रो रन पनि बनाउने अवसरमा करणले स्ट्राइक आफूसँगै राखे। दोस्रो बल डट भयो। तेस्रो बलमा करणको विकेट गुम्यो। चौथो बलमा ललित राजवंशीले बाइमार्फत एक रन बनाउँदै स्ट्राइक सन्दीप लामिछानेलाई दिए। पाँचौँ बलमा लामिछानेले १ रनमात्र बनाउन सके। अन्तिम बलमा सफयान सरिफले ललित राजवंशीलाई बोल्ड आउट गरिदिँदा नेपालले खेल गुमाउन पुग्यो। बलिङतरंफ म्याकेनजिइ जोन्सले ३ विकेट लिँदा सफियान सरिफ र माइकल लिस्कले समान २ तथा ब्राण्डन म्याकमुलन र चार्ली कास्सेलले समान १ विकेट लिए।
स्कटल्याण्डको इनिङ्स
क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनायो। यो स्कोर एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले पाए सबैभन्दा ठूलो लक्ष्य भने होइन। एसिया कपका दौरान पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको थियो भने वेस्ट इण्डिजले विश्वकप छनोटमा ३४० रनको लक्ष्य दिएको थियो।

स्कटल्याण्डलाई विशाल स्कोरतर्फ डोहोर्याउन रिची बेरिङ्टनले शतकीय इनिङ्स खेल्दै सर्वाधिक १०२ रन बनाए। त्यस्तै ६२ बलमा १२ चौका र ३ छक्काको सहायतामा माइकल लिस्क ९६ रनमा अविजित अविजित रहे। त्यसअघि ओपनर चार्ली टियरले ६८ रन बनाएका थिए।
बलिङतर्फ करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए पनि मध्यक्रममा ब्रेकथ्रु दिलाउन नसक्दा नेपालले विशाल लक्ष्य प्राप्त गर्यो।
योसँगै स्कटल्याण्ड १९ खेलबाट २४ अंक जोड्दै लिग-२ को तेस्रो स्थानमा उक्लिएको छ। १० अंक बनाएको नेपाल भने तालिकाको सातौँ स्थानमा छ।