बदलिँदो तिब्बतको भाष्य देखाउन काठमाडौं आएका ईयान लु, भन्छन् : नेपाल सम्भावनाको देश

बिजमाण्डू
२०८२ जेठ १७ गते २०:१२ | May 31, 2025
बदलिँदो तिब्बतको भाष्य देखाउन काठमाडौं आएका ईयान लु, भन्छन् : नेपाल सम्भावनाको देश

काठमाडौं । यी हुन् ईयान लु। यतिखेर उनी काठमाडौंमा छन् – तिब्बतको विकास देखाउन। काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल (किम्फ)मा उनीजस्ता ६ जना डकुमेन्ट्री निर्माता/निर्देशक तिब्बतको जैविक विविधता र विकासको सन्देश लिएर आएका हुन्।

Tata
GBIME

पहिलोपटक नेपाल आएका लुले कसरी सिजाङ (तिब्बत) प्रान्तमा विकासले रफ्तार लिएको छ देखेका छन्। उनले आफ्नो डकुमेन्ट्रीमा त्यही विकासलाई कैद गरेका छन्।

‘१० वर्ष पहिले गतिलो सडक थिएन तर अहिले धेरै हाइवे धेरै बनिसकेको छ,’ उनले सुनाए। त्यसक्रममा उनले समान भूगोल भएको नेपाली क्षेत्रमा पनि तिब्बतको जस्तो विकास सम्भव रहेको समेत भने।

लुको फिल्म ‘डेज एन्ड नाइट्स इन सिजाङ’ले संसारकै छानोको रुपमा चिनिने चीनको स्वशासित क्षेत्र तिब्बतको जनजीवनलाई स्तरोन्नती गर्नका लागि भएका कामको व्याख्या गर्छ। डिजिटल प्रविधिको विस्तार होस् अथवा स्वास्थ्य उपचारको सन्दर्भ नै किन नहोस् नेपालसँग लामो भूगोल जोडिएको सिजाङले कायापलट नै गरिसकेको छ। तिनै सन्दर्भहरूलाई उधिनेर ईयानले बनाएको डकुमेन्ट्रीले बदलिँदो तिब्बतको भाष्य व्याख्या गर्छ।

डकुमेन्ट्रीमा तिब्बतको दृश्य

ईयानले चीनमा मात्र डकुमेन्ट्री बनाएका छैनन्, अन्तर्राष्ट्रिय माध्यममा पनि उनले काम गरेका छन्। डिस्कभरी च्यानलका लागि उनले वाइल्ड लाइफसँग जोडिएको डकुमेन्ट्री फिल्म बनाएका छन्। बीबीसीले खानपानमा आधारित डकुमेन्ट्रीमा पनि उनले काम गरेका छन्।

हाल प्रदर्शनरत् डकुमेन्ट्री बनाउन केही करोड खर्च लागेको बताउने उनी नेपालमा पनि डकुमेन्ट्री बनाउने प्रबल सम्भावना रहेको बताउँछन्।

‘डकुमेन्ट्री हेर्न धेरै मानिस आए। नेपालको संस्कृति भूगोल एकदमै राम्रो छ। त्यसैले पछिल्लो समय धेरै चिनियाँहरु यहाँ आकर्षित भएका छन्। नेपालमा यसको पनि धेरै सम्भावना छ,’ उनले भने।

पहिलोपटक काठमाडौं ओर्लिएका उनलाई सिजाङ र नेपाल उस्तै लागेको छ। उनले यहाँ आउनुअघि नेपालको बारे ‘रिसर्च’ गरे, र पाए यहाँ र उनको आफ्नो ठाउँबीच भौगोलिक र सांस्कृतिक सामिप्यता।

त्यसो त किम्फसँगै सिजाङ प्यानोरोमा मार्फत चीनले नेपालमा आफ्नो बलियो उपस्थिति जनाएको छ। यसअघिका फेस्टिभलमा एक/दुई चिनिया डकुमेन्ट्री प्रदर्शनमा आए पनि यसपाला संख्यात्मक हिसाबले उनीहरूको बलियो उपस्थिति छ।

स्नो लियोपार्डस एन्ड फ्रेन्डस, लाइफ अफ बुदा, ह्वयेर दी माइटी रिभर बिगिन, युथफुल शी जाङ र वाइल्ड वन्डर्स इन शी जाङ शीर्षकका डकुमेन्ट्री पनि उनीहरूले किम्फमा लिएर आएका छन् शी जाङ प्यानोरामा अन्तर्गत। सबै फिल्मले नेपाली भूगोलसँग मेलखाले चीनको बहुआयामलाई प्रस्तुत गरेका छन्।

तिब्बतमा चीनले औद्योगिक विकाासका लागि पहल गरेको छैन। जे जति पूर्वधार बनाएको छ त्यहाँको जैविक विविधतालाई जोगाउने गरि भएका छन्। धेरै नदीको मुहानका रुपमा पनि सिजाङ परिचित छ। त्यसैले त्यहाँ हुने कुनै पनि विकासका गतिविधिको प्रभाव धेरैतिर पुग्न सक्छ।

ल्हास्साको नजिकै रहेको नाङ्गो डाँडामा हरियाली बनाउन गरिएका प्रयास लोभलाग्दो देखिन्छ ईयानको डकुमेन्ट्रीमा। ड्रोनको प्रयोग गरेर हुर्किरहेका बिरुवालाई असजिलो भिरमा पुर्‍याएर हरियाली बनाउने तरिक रोचक छ। हिमाली मानव सभ्यता र आधुनिक चीन दुवैको फ्युजन देख्‍न सकिन्छ उनको डकुमेन्ट्रीमा। जसरी सिजाङमा विकास भएको छ त्यसैलाई ईयानले फिल्ममा उतारेका हुन्।

नेपालमा ट्रान्सलेटरका रुपमा सहयोग गरिरहेकी सहकर्मीसँग ईयान

ईयानले नेपालमा हुने फिल्म फेस्टिबलमा फेरि पनि उपस्थिति जनाउने बताएका छन्। फिल्मबाटमात्र नभइ पर्यटनबाट पनि सिजाङ र नेपाल जोडिने ठम्याएका छन् उनले। ‘मैले नेपालबारे बताएपछि अरु पनि आउन थाल्छन्। यसले दुवैतिरको पर्यटन बढाउँछ,’ उनले भने।

यसपटक काठमाडौं आएका उनी अन्य भेगमा पुग्ने भने छैनन्। अर्कोपटक आउँदा पक्कै समय अघि बढी छुट्याएर आउने यहाँको दृश्य पनि कैद गर्ने उनले भाका दिएका छन्।