काठमाडौं । सेयर बजार बिहीवार थोरै बढ्यो । कारोबारको मध्य समयमा दुई अंकसम्म बढेको नेप्से परिसूचक पछिल्लो समयमा केही घट्यो । बैंकिङ समूहको परिसूचकमा भइरहेको सुधार थामिएपछि र बीमा लगायतका समूहको परिसूचक घटेपछि बजार ओर्लिएको हो । त्यसको केही समयपछि पुनः बढेको नेप्से बैंकिङ समूहको परिसूचक र नेपाल टेलिकमको सेयर मूल्य घटेपछि आरोलो लाग्यो । एकपटक मात्र कारोबारमा आएको नेपाल टेलिकमको
सेयर मूल्य तीन रुपैयाँले घटेपछि साढे दुई बजेतिर नेप्से पनि ओरालो लागेको थियो । अन्त्यमा भने नेप्से परिसूचक ०.२१ अंकले बढ्यो ।
मेघा, कमर्ज एण्ड ट्रष्ट बैंक लगायतको सेयर मूल्यमा भएको वृद्धिले बैंकिङ समूहको परिसूचकमा करिब तीन अंकसम्म सुधार भएको थियो । तर, कारोबारको मध्य समयपछि भने सो समूहको परिसूचक बढ्न सकेन । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा चार गुणा नाफा बढेको मेघा बैंकको सेयर मूल्य ८.४६ प्रतिशतले वृद्धि भएको छ । ग्लोबल आइएमइ बैंकसंगको मर्जरको हल्ला चलाएर कमर्ज एण्ड ट्रष्ट बैंकको सेयर मूल्य बढाइएको छ । ग्लोबल बैंकका तीन जना फरफरक स्रोतका अनुसार कमर्ज र ग्लोबलबीच हाल मर्जको कुनै सम्भावना रहेको छैन । तर हल्लाले कमर्ज बैंकको सेयर मूल्य भने ९.५ प्रतिशतले बढेर एक सय ९६ पुगेको छ ।
तीन गुणा नाफा बढेको ग्लोबल आइएमइको सेयर मूल्य करिब एक प्रतिशतले बढेर चार सय ४४ मा किनबेच भएको छ । बैंकको सो दिनको उच्च मूल्य भने चार सय ५६ पुगेको थियो । बैंकिङ र टेलिकम सूचीकृत ‘अन्य’ समूह बाहेक सबै परिसूचक बढेको छ ।
बीमा र होटेल समूहको परिसूचक भने दोहोरो अंकले बढ्यो । ओरियण्टल होटेल र सोल्टि होटेलको सेयर मूल्य बढेका छन् । बीमा कम्पनीहरुमा लाइफ इन्स्योरेन्स, नेको, सिद्धार्थ, एनएलजी लगायतका इन्स्योरेन्स कम्पनीको मूल्य बढेपछि बीमा समूहमा सुधार आएको हो । साताको अन्तिम दिन बिहीवार करोबार रकम ६२ प्रतिशतले बढेर १३ करोड पुगेको छ ।











