तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार : पौडेल, भट्टराई र निलम सिफारिस

बिजमाण्डू
२०८२ जेठ ६ गते १८:०५ | May 20, 2025
तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार : पौडेल, भट्टराई र निलम सिफारिस

काठमाडौं। गभर्नर सिफारिस समितिले अर्थशास्त्री डा. विश्व पौडेल, पूर्वसचिव दिनेश भट्टराई र डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको नाम नयाँ गभर्नरका लागि सिफारिस गरेको छ।

Tata
GBIME

सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेल तीन जनाको नाम बोकेर भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार पुगेका छन्।

सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन्। नाम सिफारिससँगै समितिको काम सकिएको छ।

सिफारिस गर्नुअघि अर्थमन्त्री पौडेलले सबै उम्मेदवारलाई फोन गरेका थिए।

नेपाल राष्ट्र बैंक ऐन अनुसार समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्छ। त्यसमध्ये एक नाम डेपुटी गभर्नरबाट हुनुपर्छ।

सिफारिस भएकामध्ये पौडेल र तिम्सिनाको नाम चर्चामा भएपनि भट्टराईको नाम अन्तिम समयमा छिराइएको हो। उनी वाणिज्य सचिवसमेत थिए। उनी नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृहसचिव थिए।