शंकास्पद वित्तीय कारोबार डरलाग्दोरुपमा बढ्यो, ४८.७४% वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक

बिजमाण्डू
२०८२ जेठ ६ गते १८:३६ | May 20, 2025
शंकास्पद वित्तीय कारोबार डरलाग्दोरुपमा बढ्यो, ४८.७४% वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक

काठमाडौं। शंकास्पद वित्तीय कारोबार डरलाग्दोरुपमा बढेको छ। नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाईले शंकास्पद वित्तीय कारोबार ४८.७४ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ।

Tata
GBIME

तथ्यांक अनुसार एक वर्षमा ९ हजार ३०४ वटा शंकास्पद वित्तीय कारोबार भएको छ। अघिल्लो वर्ष यो संख्या ६ हजार २५५ थियो।

इकाईले सन् २०२४ मा १ हजार ८९४ प्रतिवेदन विश्लेषण गरेको र तीमध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने र नियमनकारी निकायमा प्रवाह गरेको जनाएको छ। इकाईले ८०८ वटा प्रतिवेदन भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ।

त्यसैगरी, सूचक संस्थाहरूले इकाईमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकोमा यो संख्या सन् २०२४ मा १९ लाख ७२ हजार ८५५ पुगेको छ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने र नियामक निकायको संख्या सन् २०२३ को अन्त्यमा १ हजार ४९६ रहेकोमा सन् २०२४ को अन्त्यमा १ हजार ९०५ पुगेको छ।