
काठमाडौं। महालेखापरीक्षकको कार्यालयले कृषि बीमाको विश्वसनियतामाथि प्रश्न उठाएको छ। महालेखाले बीमकले कृषि तथा पशुपन्छी बीमाको दाबी भुक्तानी समयमै नदिएको भन्दै प्रश्न उठाएको हो।
महालेखाले आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा दाबी भुक्तानी समयमै नपाएका कारण बीमितहरुले आर्थिक संकट भोग्नु परेको उल्लेख गरेको छ।
‘बीमितहरूले समयमै क्षतिपूर्ति नपाउँदा आर्थिक सङ्कट भोग्नुपरेको, बीमा प्रणालीप्रति विश्वास कम हुँदै गएको तथा बीमाको निरन्तरतामा कमी आएको देखिन्छ,’ कार्यालयले भनेको छ।
कार्यालयले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ ले बीमा दाबी जानकारी प्राप्त गरेको दिनदेखि अधिकतम ५७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था बीमकले पालना नगरेको उल्लेख गरेको छ।
गत आर्थिक वर्ष १४ बीमा कम्पनीमा ३२ हजार ५६६ बीमालेखबाट १ अर्ब ७० करोड ७ लाख बीमा दाबी भुक्तानी माग भएकामा अघिल्लो वर्षको समेत गरी बिमकले १ अर्ब ५८ करोड ४३ लाख मात्रै भुक्तानी गरेको प्रतिवेदनमा छ।
कृषि तथा पशुपन्छी बीमाबापत इन्स्योरेन्सले ४ हजार ८२७ बीमालेखको ३७ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। महालेखाले नियामक नेपाल बीमा प्राधिकरणको क्षमतामाथि पनि प्रश्न गरेको छ।
कार्यालयलेे बीमकहरूलाई समयसीमा पालना गर्न, प्राधिकरणलाई प्रभावकारी नियमन र अनुगमन गर्न, डिजिटल प्रणालीमार्फत प्रक्रिया सरलीकृत गर्न एवं बीमा दाबी भुक्तानी प्रक्रियाबारे पारदर्शिता कायम गर्न भनेको छ।
महालेखाले कृषि तथा पशुपन्छी बीमामा कृषकको सतप्रतिशत पहुँच कायम भए हालको प्रिमियम अनुदान रकम २५ गुणाले वृद्धि हुने उल्लेख गरेको छ।