सरकारको सिग्नल पर्खिँदै आईपीएल र पीएसएल : खेलाडी फर्काउने चुनौती, बीमा कम्पनीलाई राहत!

बिजमाण्डू
२०८२ बैशाख २९ गते १२:०० | May 12, 2025
सरकारको सिग्नल पर्खिँदै आईपीएल र पीएसएल : खेलाडी फर्काउने चुनौती, बीमा कम्पनीलाई राहत!


इण्डियन प्रिमियर लिग (आईपीएल) मे १५ आसपासबाट पुन: सुरु गर्ने योजनामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) रहेको छ। इएसपीएनको रिपोर्ट अनुसार आईपीएल फेरि सुरु गर्न तम्तयार बनेको बीसीसीआई सरकारको ‘सिग्नल’ पर्खेर बसेको छ।

Tata
GBIME
NLIC

आईपीएलको ५८ औँ खेल चलिरहँदा भारत र पाकिस्तानले एकअर्काविरुद्ध आक्रमण तीब्र बनाएपछि एक हप्ताका लागि प्रतियोगिता नै रोकिएको थियो। आईपीएलका १० वटै फ्रेन्चाइजहरूले विदेशी खेलाडी, प्रशिक्षक र स्टाफहरूलाई फिर्ता बोलाउन पहल सुरु गरेका छन्। अर्कोतर्फ अन्य देशहरूले आईपीएलसँगै पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने आफ्ना देशका खेलाडीको सुरक्षा चासोलाई लिएर विज्ञप्ति नै निकालेका थिए।

केही दिनको युद्धपछि भारत र पाकिस्तानबीच युद्धविराम भएको छ। तर, दुवै देशबीच सम्बन्ध सुध्रिने अवस्था तत्काललाई छैन। यद्यपि, युद्धका कारण रोकिएको आइपीएलसँगै पीएसएल फेरि सुरु गर्ने बारे भने तयारी चलिरहेको छ।

इण्डियन एक्सप्रेसका अनुसार बीसीसीआई मे १६ बाट हैदराबाद, बेङ्ग्लुरु र चेन्नइमा खेल सुरु गर्ने तयारीमा छ। अर्थात पाकिस्तान सीमाभन्दा टाढा गएर प्रतियोगितालाई निरन्तरता दिने सोचमा आईपीएल देखिन्छ। यो हिसाबले खेल सुरु भए मे २५ मा हुनु पर्ने फाइनल खेल ३० तारिखमा हुनेछ।

‘भर्खरै युद्धविरामको घोषणा भएको छ। अब हामी आईपीएल पुनः सुरु गर्ने र सम्पन्न गर्ने सम्भावना खोज्दैछौं। यदि तत्कालै आयोजना गर्न सम्भव भएमा हामीले स्थान, मिति र सबै कुरा मिलाउनुपर्नेछ। हामी टोली मालिकहरू, प्रसारकहरू र संलग्न सबै पक्षहरूसँग कुराकानी गर्नेछौं र अगाडि बढ्ने तरिका खोज्नेछौं। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हामीले सरकारसँग परामर्श गर्नुपर्नेछ,’ आईपीएलका अध्यक्ष अर्जुन धुमालले भने।

अर्कोतर्फ पीएसएललाई भने यूएईमा लैजाने निर्णय गरेको पाकिस्तान क्रिकेट बोर्ड यसमा सफल हुन सकेन। यूएईले पीसीबीको प्रस्तावलाई अस्वीकार गरेसँगै पाकिस्तान यसमा असफल भएको थियो। युद्धविरामपछि पीएसएल रावलपिण्डीमै सुरु हुनसक्ने विदेशी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बीमा कम्पनीलाई राहत

भारत र पाकिस्तानबीचको युद्धविराम ले दुवै देशका क्रिकेट प्रतियोगिता पूरा गर्न माहोल बन्दै गएको छ। यस्तोमा आईपीएल पुन संचालनको तयारी तीव्र हुँदा बीमा कम्पनीले भने राहतको साँस फेरेका छन्।

आईपीएलका बीमा दाबीहरू प्रतियोगिता रद्द भएमा मात्र सुरु हुन्छन्। यसको वित्तीय असर ठूलो छ। गत सिजनमा एउटा मात्र खेल रद्द हुँदा १६ देखि १७ करोड रुपैयाँसम्मको दाबी परेको थियो।

न्यु इण्डिया एसोरेन्स र एसबीआई जेनरल आईपीएलका मुख्य इन्स्योरर कम्पनी हुन्। प्रतियोगिता रद्द हुने अवस्थामा ठूलो दाबेदारी आउने थियो तर पुनः संचालन हुने निर्णयले बीमा कम्पनीहरूलाई राहत दिएको छ।