
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्यौली शैलीमा संसदमा सांसदहरुको प्रश्नको जवाफ दिएका छन्। नीति तथा कार्यक्रमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन आइतबार उनले एक घण्टाभन्दा बढी समय लगाएका थिए। आफ्ना आलोचकमाथि आक्रोश व्यक्त गर्ने ओलीले आइतबार भने फरक शैली अपनाए।
उनले केही सांसदका प्रश्नमा कटाक्ष गरे भने केहीलाई ठट्यौलो शैलीमा उत्तर दिए।
वैशाख १९ गतेको नीति तथा कार्यक्रमलाई पट्याएर मानेर सुनेका सांसदले ओलीको आजको एक घण्टा लामो जवाफलाई भने रोचक मानेर सुनेका थिए। जवाफ दिनेक्रममा ओलीले सत्ता पक्षलाई मात्रै नभइ प्रतिपक्षीलाई नै आश्वस्त पार्नेगरी जवाफ दिने प्रयास गरेका थिए।
सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतरका नेताहरुले निति कार्यक्रमको चर्को चलोचना गरेकोमा ओलीले दुवै दलबीच व्यापक छलफल गरेर ल्याएको र त्यही अनुसार बजेट ल्याउने भन्दै विरोधमा मात्रै केन्द्रित नहुन भने। ‘प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच छ’ भन्दै कांग्रेस महामन्त्री गगन थापाले आफ्नो आलोचना गरेकोप्रति ओलीले सस्तो टिप्पणी भन्दै जवाफ दिए।
‘ऐनामा हेरर गाली गर्नुस्’
बजेट अधिवेशनको सुरुवातमै प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कटु आलोचना गरेका थिए। त्यसैको जवाफ स्वरुप ओलीले प्रचण्डलाई सरकारको विरोध गर्नुअघि आफैंतिर फर्कन भने।
‘विपक्षीका माननीयले टिप्पणी भन्दा पनि गालि गलौजको भाषा बोल्नु भएको थियो। ऐनामा हेर्ने, अनि यस्तो रैछस् उस्तो रैछस् भनेर गाली गर्ने,’ ओलीले भनेका थिए।

ओलीले प्रचण्डलाई जवाफ फर्काएपछि सत्ता पक्षका सांसदले टेबल ठोकेर साथ दिएका थिए। संसदको बहसलाई सामाजिक सञ्जालको जस्तो अमर्यादित नबनाउन पनि आग्रह गरे।
राजा कहिले फर्किदैनन्
ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरु बंगलादेशको जसरी भाग्न तयार रहन भन्दै संसदमा दिएको चर्को भाषणप्रति पनि आपत्ति जनाए। उनले बरु आफैं भाग्नका लागि तयारी गर्न भने।
जेठ १५ गते राजतन्त्र फर्काउन भन्दै राजावादीले घोषणा गरेकोप्रति टिप्पणी गर्दै भने,’लोकतन्त्र उल्टाउने शंखघोष गर्नुहुन्छ। यसपटकको जेठ १५ मात्रै होइन कहिले को जेठ १५ गते तपाईंको सपना साकार हुँदैन।’ उनले राजतन्त्रको वकालत गरिरहेको राप्रपालाई अहिलेको प्रणाली अनुकूल बन्न सुझाव दिए।

‘प्रतिगमनको वकालत गरेर सिलिङमा टाउको ठोक्किनेगरी उफ्रनुको कुनै अर्थ छैन,’ ओलीले राजावादीको आलोचना गर्दै भने। संविधानको धारा २०७० ले फरक विचारको पार्टी खोल्न पाउने र त्यसमा बन्देज लगाउन नपाउने व्यवस्था रहेकोबारे सरकारले संविधानको व्यवस्थालाई मान्ने भन्दै राप्रपालाई जवाफ दिए।
उनले आफू विपक्षमा लामो समय बसेको तथा आफूलाई झुटा मुद्दा लगाएर १० वर्ष तथा मुद्दा सकिएपछि फ्रीमा ४ वर्ष थुनेको बताए। ‘त्यस्ता प्रणालीका अधिनायकहरु फालिएको हो। युवा माननीयज्यूहरु कहाँ हजार वर्ष पुरानो वकालत? धन्न कालो कोट लगाउनुभएको छैन,’ ओलीले कटाक्ष गरे। उनले शान्तिपूर्ण आन्दोलन गर्न पनि राप्रपालाई आग्रह गरे।

चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनको जिम्मा कसैले नलिएको भन्दै उनले आपत्ति जनाए। ‘जन्माउने को हो? माता पिता को हुन्? तपाईं हो भन्दा कोही पनि हो भन्दैन,’ उनले भने। ओलीले यस्तो टिप्पणी गरेपछि मन्त्री र सांसदहरु हाँसेका थिए।
सरकारले घाटा खाएर उद्योग नचलाउने
ओलीको जवाफप्रति सांसदहरुले स्पष्टीकरण माग गरेका थिए। पूरक प्रश्नको जवाफ दिने क्रममा ओलीले आफू मेयर जसरी एउटै ठाउँको विकासमा केन्द्रित नहुने बताए।
‘विराटनगर प्रमुख औद्योगिक क्षेत्र थियो। विकासको अभियान चल्दै जाँदा अरुले जिते। म नगरपालिकाको मेयर होइन कि त्यहाँको विकासमा केन्द्रित हुन। मैले देशकै ध्यान दिनुपर्छ,’ माओवादी केन्द्रका सांसद अमनलाल मोदीले विराटनगरको विकासबारे सोधेका प्रश्नको जवाफमा ओलीले भने।

ओलीले मोदीको प्रश्नको जवाफ पनि ठट्यौली शैलीमा दिए। उनले सरकारले घाटा खाएर उद्योग नलचाउने तथा निजी क्षेत्रले चलाउन सक्ने उद्योग निजी क्षेत्रलाई दिने बताए।
‘निजी क्षेत्रसँग सहकार्य गर्ने हो। सरकारले मात्रै चलाउँछ भनेर सरकारले घाटाको काम गर्ने होइन,’ उनले भने, ‘सरकारले आफ्ना कमीकमजोरी र सीमाहरुलाई पनि बुझ्नुपर्छ। निजी क्षेत्रको केहि कुराहरुमा निजी क्षेत्रको सामर्थ्यलाई पनि स्वीकार्नु पर्छ। सार्वजनिक क्षेत्र र निजी क्षेत्रलाई सँगसँगै जानेकुरा, एकअर्कालाई अर्थतन्त्रको पूरकका रुपमा बुझ्ने नीति सरकारले अवलम्बन गरेको छ।’
कर्णाली प्रदेशको विकासलाई नीति तथा कार्यक्रममा नराखिएको भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले ओलीको आलोचना गर्दै प्रश्न गरेकोमा ओलीले कर्णालीको विकासलाई पहिला र अहिलेको तुलना गर्न भने।
‘पहिला कर्णालीमा विद्यालयको मुख देख्न गाह्रो कुरा थियो। पहिला छोरीहरुले पढ्नु ठूलो कुरा थियो अहिले सामान्य भएको छ,’ उनले भने। नेपाललाई ग्रे लिस्टमा आफूले नभइ अघिल्लो सरकारले पारेको ओलीले दाबी गरे। उनले आफूले नपार्न प्रयास गरेको बताए।