
काठमाडौं। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन गठित संसदीय समिति निर्धारित समयमा काम सम्पन्न गर्न असफल भएको छ।
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत एमाले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमिति ३५ दिनमा काम सम्पन्न गर्न असफल भएको हो।
प्रतिवेदन लेखन तथा त्यसउपर थप छलफल गरी मस्यौदालाई अन्तिम रुप दिने काम बाँकी रहेको भन्दै उपसमितिको म्याद १० दिन थप गरिएको छ। समितिको सोमबार बसेको बैठकले उपसमितिको म्याद थप गरेको हो।
उपसमितिले १६३ वटा दफा रहेको विधेयकमाथि दफाबार छलफल भने सकेको छ। विधेयकमा १६१ सांसदले १७५२ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए।
विधेयकमाथि दफाबार छलफल गरेर प्रतिवेदन तयार पार्न समितिले गत चैत ८ गते १० सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिले चैत १८ गते काम सुरु गरेको थियो।
सरकारले नेपाल शिक्षक महासंघसँग वैशाख १७ गते राति विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धता जनाएको थियो।