मेटालाई नेपालमा दर्ता हुन आउन सञ्चारमन्त्री गुरुङले दिए एक हप्ताको डेडलाइन

बिजमाण्डू
२०८२ बैशाख १४ गते १५:०६ | Apr 27, 2025
मेटालाई नेपालमा दर्ता हुन आउन सञ्चारमन्त्री गुरुङले दिए एक हप्ताको डेडलाइन


काठमाडौं। एक महिनाको समयसीमा दिँदा पनि मेटालगायत अन्य सामाजिक सञ्जाल दर्ता हुन नआएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि ७ दिनको समय दिएका छन्।

Tata
GBIME
NLIC

समयसीमा दिएर निरन्तर दर्ता गर्न आउन दबाब दिँदै आएका मन्त्री गुरुङले अबको एक सातामा नेपालको कानुनअनुसार दर्ता नभए फेसबुकको माउ कम्पनी मेटाका प्ल्याटफर्ममाथि नेपालमा प्रतिबन्ध लगाउने दाबी गरेका हुन्।

मेटाले आफ्नो आम्दानी नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)भन्दा धेरै भएको रवाफ लगाएको जिकिर गर्दै मन्त्री गुरुङले मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने बताएका हुन्।

‘मेटा भन्नेबित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन्। तर, उनीहरूले नेपालको कानुन मान्दिनँ भन्न मिल्दैन, हाम्रो कानुनअनुसार दर्ता भई सञ्चालन हुनुपर्छ। हामी कहाँ दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन? त्यसका कारणले फैलिने गलत विषय हामीले नियन्त्रण गर्नुपर्दैन? उनीहरूको कन्टेन्टले  हाम्रो राष्ट्रिय स्वाधीनताका विरुद्धमा बोल्यो भने समाजमा ठूलो प्रभाव पर्न सक्छ। त्यसैले तिनीहरूको नियमन हुनुपर्छ,’ मन्त्री गुरुङले भने।

नेपाल चलचित्र संघको ५०औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ चलचित्र विधेयक चाँडै ल्याइने बताएका छन्।