टेस्ला समस्याहरूको भुमरीमा पर्दै गएपछि डोजमा आफ्नो भूमिका घटाउने इलन मस्कको निर्णय

बिजमाण्डू
२०८२ बैशाख १० गते ०८:१७ | Apr 23, 2025
टेस्ला समस्याहरूको भुमरीमा पर्दै गएपछि डोजमा आफ्नो भूमिका घटाउने इलन मस्कको निर्णय
फाइल तस्बिर : एपी


टेस्लाका मालिक इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताएका छन्। टेस्लाको आम्दानी र मुनाफा २०२५ को पहिलो त्रैमासमा उल्लेखनीय रूपमा घटेपछि उनले यस्तो बताएका हुन्।

Tata
GBIME
NLIC

कम्पनीले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार गाडी बिक्रीको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले घटेको छ। मुनाफामा झन् ठूलो गिरावट आएको छ। मुनाफा ७० प्रतिशतभन्दा बढी घटेको हो।

पहिलो त्रैमासमा कम्पनीको कुल आम्दान १९.३ अर्ब डलर छ। यो आम्दानी विश्लेषकहरूले अनुमान गरेको २१.१ अर्ब डलरभन्दा कम हो। ग्राहक तान्नका लागि मूल्य कटौती गरिँदा पनि यो गिरावट आएको हो।

यो कठिन अवस्था अझ केही समय रहन सक्ने भन्दै टेस्लाले लगानीकर्ताहरूलाई सचेत गराएको छ। कम्पनीले कुनै वृद्धिको पूर्वानुमान नदिँदै ‘राजनीतिक सोचको परिवर्तन’ले मागमा गम्भीर असर पार्न सक्ने उल्लेख गरेको छ।

मस्कले ट्रम्पको निर्वाचन अभियानका लागि एक अर्ब डलरभन्दा बढी सहयोग गरेका थिए। उनी अहिले ट्रम्प प्रशासनको सरकारी खर्च घटाउने र कर्मचारी संख्या कम गर्ने ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डोज)को नेतृत्वमा छन्। यही कारण लगातार राजनीतिक केन्द्रमा रहेका उनले कम्पनीमा आफ्नो ध्यान कम भएको स्वीकार गरेका छन्।

उनको यो राजनीतिक संलग्नताले विश्वभर टेस्लाविरुद्ध प्रदर्शन र बहिष्कारको वातावरण सिर्जना गरेको छ।

मस्कले यसबारे भनेका छन्, ‘मानिसहरूले मलाई र डोज टोलीलाई आक्रमण गर्ने प्रयास गरिरहेका छन्।’

तर उनले आफूले डोजमा गरेको कामलाई ‘महत्वपूर्ण’ भनेका छन्। सरकारी कामकाज सुधारको प्रक्रिया लगभग पूरा भएको उनको दाबी छ।

मस्कले मे महिनाबाट डोजलाई हप्तामा एकदेखि दुई दिन मात्र समय दिने बताएका छन्। उनले यो भूमिका राष्ट्रपति र आफ्नो उपयोगिताको आधारमा कायम राख्ने बताएका छन्।

ट्रम्पले चीनमाथि लगाएको भन्सारले पनि टेस्लामाथि नकारात्मक असर पारेको छ। टेस्लाका अधिकांश पार्टपुर्जा चीनमा बन्दै आएका छन्। परिवर्तनशील व्यापार नीतिले कम्पनीको आपूर्ति श्रृंखलामा असर पुर्‍याउँदै लागत बढाउने खतरा छ।

मस्कले टेस्ला अन्य कार कम्पनीहरूको तुलनामा करबाट कम प्रभावित भएको बताएका छन्। कम्पनीका आपूर्ति श्रृंखला उत्तर अमेरिका, युरोप र चीनमा स्थानीयकरण गरिएको उनको भनाइ छ।

यद्यपि, उनले भने, ‘जब मुनाफाको दर कम हुन्छ, भन्सार अझै पनि कठिन हुन्छ।’

उनले भन्सार घटाउने वकालत गर्ने तर त्योभन्दा बढी गर्न नसक्ने स्पष्ट पारे।

मस्कले टेस्लाको भविष्यमा एआईले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। तर विगतमा लगानीकर्ताहरू यसप्रति खासै विश्वस्त देखिएका थिएनन्।

यो वर्षमात्र टेस्लाको सेयर मूल्य ३७ प्रतिशतले घटेको छ। तर, नतिजा सार्वजनिक भएपछि अतिरिक्त कारोबार अवधिमा ५ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

एजे बेलका लगानी विश्लेषक ड्यान कोट्सवर्थले कम्पनीप्रतिको आशा ‘ज्यादै न्यून’ भएको बताएका छन्। यस महिनाको सुरुमा टेस्लाले आफ्नो कार बिक्री १३ प्रतिशतले घटेर ३ वर्षयताकै न्यूनतम अवस्थामा पुगेको जानकारी दिएको थियो।

उनले ट्रम्पको व्यापार युद्धका कारण विश्वव्यापी आपूर्ति श्रृंखलामा आउने सम्भावित बाधाले थप जोखिम सिर्जना गर्ने चेतावनी पनि दिएका छन्।

कोट्सवर्थले भने, ‘टेस्लाका समस्या बढ्दै गइरहेका छन्।’