शिक्षकको प्रदर्शनले ट्राफिक व्यवस्थापनमा सास्ती, दैनिक थप डेढ सय प्रहरी परिचालन

बिजमाण्डू
२०८२ बैशाख ९ गते १३:१७ | Apr 22, 2025
शिक्षकको प्रदर्शनले ट्राफिक व्यवस्थापनमा सास्ती, दैनिक थप डेढ सय प्रहरी परिचालन


काठमाडौं ।  करिब ३ सातादेखि भइरहेको शिक्षकहरुको आन्दोलनले काठमाडौंको ट्राफिक व्यवस्थापनको अवस्था भद्रगोल बनेको छ। प्रदर्शनका कारण बढ्दो जामका कारण ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ।

Tata
GBIME
NLIC

केही दिन देखि शिक्षकहरुले बिहान ९ बजेदेखि नै प्रदर्शन सुरु गरेका छन्। कार्यालय समयमा मुख्य सडक नै बन्द गरेर प्रदर्शन हुँदा काममा निस्किएका आम मानिस झन् समस्या परेका छन्।

हाल शिक्षकहरुले बिहान ९ बजेदेखि नै माइतीघर- बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दा काठमाडौंभित्रका अधिकांश ठाउँमा ट्राफिक समस्या बढेको छ। करिडोरका सडकमा पनि ट्राफिक बढेको छ। जसकारण नियमित भन्दा बढी ट्राफिक प्रहरी ड्युटीमा खटाइएको छ।

‘पछिल्लो समय धेरै ठाउँमा सवारी आवगमनमा असर परेको छ। दैनिक डेढ सय प्रहरी थपिएको छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले भने।

केहीदिनदेखि बिहानै माइतीघ र नयाँ बानेश्वरबाट सवारी डाइभर्सन गरिँदै आएको छ। जसले गर्दा भित्री सडकमा यसको असर पर्ने गरेको छ।

माइतीघर-बानेश्वर सडकखण्डमा भएको प्रदर्शनले रिङरोड क्षेत्रमा पनि असर गरेको छ। दैनिक यसरी नै सडक कब्जा गरेर प्रदर्शनमा उत्रिँदा दैनिक आवतजावतमा असर परेको छ। जसकारण शिक्षकहरुलाई अर्कै स्थानमा प्रदर्शन गर्न प्रशासनले भन्नुपर्ने माग बढेको छ।

हाल प्रदर्शनरत क्षेत्र वरिपरि धेरै अस्पताल र विद्यालय छन्। प्रदर्शनका कारण बिरामी र विद्यार्थीले हप्तौंदेखि सास्ती भएका छन्। सरकारी कार्यालय पनि वरिपरि छ। सरकारी कर्मचारीहरुलाई पनि कार्यालय समयमै पुग्न सकस छ। बैंकसँगै निजी कार्यालयमा कार्यरत कर्मचारीले कार्यालयसम्म गाडी लग्न पाएका छैनन्।