शिथिलताले सुस्ताएको निजी क्षेत्रको मनोबल बढ्यो, औद्योगिक क्षेत्रका सबै सूचकमा सुधार

बिजमाण्डू
२०८२ बैशाख ४ गते १९:०२ | Apr 17, 2025
शिथिलताले सुस्ताएको निजी क्षेत्रको मनोबल बढ्यो, औद्योगिक क्षेत्रका सबै सूचकमा सुधार


काठमाडौं। अर्थतन्त्रमा तीन वर्षदेखि देखिएको शिथिलताले लगानी विस्तार गर्न हिच्किचाइरहेको निजी क्षेत्रको मनोबल बढेको देखिएको छ।

Tata
GBIME
NLIC

नेपाल उद्योग परिसंघ (सीएनआई)ले विभिन्न ६४ उद्योगमा गरेको सर्वे निजी क्षेत्रको मनोबल बढेको देखाएको हो। सर्वे अनुसार चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा सबैजसो सूचकमा सुधार देखिएको छ।

उद्योगहरुको सञ्चालन अवधि बढेको छ। उद्योगहरु ६२.३५ प्रतिशत क्षमतामा चलेका छन्। चालु वर्ष पहिलो त्रैमासको तुलनामा यो २ प्रतिशत बढी हो।

खासगरी उत्पादनमूलक उद्योगमा उल्लेख्य सुधार देखिएको छ। उत्पादनमूलक उद्योग ६८.७१ प्रतिशत क्षमतामा चलेका छन्। चालु वर्षको पहिलो त्रैमासमा यी उद्योग जम्मा ५०.६२ प्रतिशत क्षमतामा चलेका थिए।

क्षमताको ६२.३५ प्रतिशत संचालन गर्दा उद्योगहरुको व्यापार बढेको छ। उद्योगको आम्दानी १२.३३ प्रतिशतले बढेको हो। उत्पादनमूलक उद्योगको आम्दानी १०.९९ प्रतिशतले बढेको छ। पहिलो त्रैमासमा यस्तो वृद्धि ६.८ प्रतिशतमा सीमित थियो।

शिथिल अवस्थाबाट गुज्रिरहेको बजारमा वस्तु तथा सेवाको माग १९.६७ प्रतिशतले बढेको छ। माग ५० प्रतिशतसम्म खुम्चिएको तथ्यांक रहेको अवस्थामा यो वृद्धिबाट निजी क्षेत्र निक्कै उत्साही भएको छ। उद्योगहरुमा रोजगारी पनि बढेको छ।

सर्भेमा समेटिएका उद्योगमा १८ हजार ४९६ श्रमिक कार्यरत छन्। तीमध्ये ३२० श्रमिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भर्ना भएका हुन्।

सर्वेले सबैजसो सूचक सुधार भएको देखाएपछि सीएनआईका पदाधिकारीले बजार लयमा फर्किने क्रममा रहेको भन्दै खुशी व्यक्त गरेका छन्। सर्वे रिपोर्ट तयार भएपछि सीएनआई सचिवालयले पदाधिकारीहरुलाई बोलाएर प्रस्तुति गरेको थियो।

बजार मागदेखि उद्योगहरुको आम्दानी र सञ्चालन क्षमता बढ्नुलाई अर्थतन्त्र बाउन्स ब्याक हुने क्रममा रहेको भनेर उद्योगीहरु आशावादी भएका छन्।

उद्योगीहरुले लगानी विस्तारको योजना बनाएका छन्। ६२.५० प्रतिशत उद्योगले लगानी विस्तारको योजना बनाएका हुन्। लगानी विस्तार गर्न चाहनेहरु उत्पादनमूलक उद्योगभन्दा सेवा क्षेत्रतर्फका धेरै छन्।