
काठमाडौं। गत पुसमा राजस्व अनुसन्धान कार्यालय बुटवलले २ हजार ६ सय पिस इलेक्ट्रिक चुरोट (भेप) बरामद गर्यो। तीन जनासहित एउटा व्यावसायिक फर्मलाई प्रतिवादी कायम गरेर मुद्दासमेत बुझायो। अनुसन्धान प्रतिवेदनको अनुसार भेप चीनबाट नेपाल भित्रिएर भारत जान लागेको खुल्यो।
भेरी ट्रान्सपोर्टको लु प ३००१ ख ०११४ नम्बरको गाडीमा २ हजार ६०० वटा भेप बरामद भएको थियो। बुटवलमा बरामद भेप पनि काठमाडौंबाट बुटवल हुँदै नेपालगन्ज पुर्याएर त्यहाँबाट भारत लग्ने तयारी थियो। नेपालमा भन्दा भारतमा भेपको खपत र बिक्री मूल्य बढी भएकाले पनि काठमाडौंलाई ट्रान्जिट बनाएर भारतमा भेप तस्करी भएको देखिएको छ।
त्यसपछि प्रहरीले डायमन्ड नेपाल इन्टरनेशनलका रोजन न्यौपाने र सनाउल्लाह अन्सारीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। चीनबाट रसुवा र तातोपानी नाका हुँदै काठमाडौं भेप ल्याउने गरिएको छ। तर, पछिल्लो पटक मुस्ताङमा बरामद भएको भेप भने कोरला नाकाबाट ल्याएको देखिन्छ। सुन र सुपारी जस्तै भेप पनि तस्करले नेपाललाई ट्रान्जिट बनाएर भारत पठाउने गरेका छन्।
+++
गत साउनको अन्तिम साता सशस्त्र प्रहरी वीरगंजबाट पनि भेप बरामद गरेको थियो। वीरगंज-१६ स्थित भन्सार कार्यालयको मुख्य गेट नजिकैबाट ४५० थान भेप बरामद भएको थियो।
तस्करी गर्ने समूहले टाँगाभित्र फल्स बटम बनाएर भेप लुकाएका थिए। भारततर्फ लैजानका लागि बाटोमा रोकिराखेको टाँगाबाट सो भेप बरामद भएको थियो। चीनबाट आएको भेप वीरगन्ज नाका हुँदै भारत तस्करी हुन लागेको थियो। यसरी हेर्दा पछिल्लो समय नेपाल भित्रिएका अधिकांश भेपको खेप आन्तरिक बजारका लागि होइन भन्ने खुल्छ।
त्यसको एक साताअघि मात्र वीरगंजमा नै ५ करोड मूल्य पर्ने ७६ कार्टुन भेप बरामद भएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज-६ रेल्वेरोडस्थित रामप्रसाद बैरेको पक्की घरमा भाडामा दिएको कोठाबाट ७६ कार्टुनमा रहेका १५ हजार २ सय थान भेप बरामद थियो। एक कार्टुनमा दुई सय थान भेप भेटिएको थियो।

घरमा भेप स्टोर गर्नुको कारण थोरै सङ्ख्यामा यसरी विभिन्न तरिकाबाट भेप भारत लैजानु नै हो। पछिल्लो समय राजस्व अनुसन्धान विभागमा करिब डेढ लाखभन्दा बढी थान भेप स्टोर भएको छ। जुन यसरी नै प्रहरी र राजस्व कार्यालयले बरामद गरेको हो। यी सबैको अनुसन्धानमा पछिल्लो समय नेपालमा भेप तस्करी बढेको देखिन्छ। तर त्यसको प्रयोजन भने नेपालमा नभई भारतमा नै सप्लाई गर्नु हो।
‘अहिलेको अनुसन्धानले अधिकांश भेपहरु भारत भएको देखिएको छ,’ राजस्व अनुसन्धान विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले भनिन्।
+++
भारतमा सन् २०१९ सेप्टेम्बर १८ देखि लागु हुने गरी भेप आयात, उत्पादनमा रोक लगाइएको छ। त्यसैले भारतमा आवश्यक पर्ने भेप नेपालबाट ट्रान्जिट भएर तस्करीको माध्यमबाट पुग्ने गरेको छ। पछिल्लो समय भारतमा भेपको माग बढेकाले नेपालमा यसको असर देखिएको छ।
गत पुस महिनामा नै ललितपुरको इमाडोलमा भण्डार गरी राखेको ८६ हजार ४ सय थान भेप बरामद भएको थियो। चीनबाट तातोपानी नाका हुँदै आएको भेप ललितपुरबाट भारत पुर्याउने योजना थियो। त्यतिखेरै मुस्ताङमा पनि १९ हजार भेप बरामद भइसकेको थियो। त्यसैको सूचना केलाएपछि विभागको टोलीले छापा मार्दा इमाडोलबाट ठूलो मात्रामा भेप बरामद भएको हो। अहिले विभागले यसको अनुसन्धान जारी राखेको छ। जसमा पक्राउ परेका दुई जना २० करोड रुपैयाँ धरौटी राखेर छुटेका छन्।

सुनकै डेमोमा विमानस्थलबाट पनि भेपको तस्करी!
भारतमा भेपको माग बढेकाले तस्कर समूहले नेपालको विमानस्थल प्रयोग गरेर पनि भेपको तस्करी गर्ने गरेका छन्। वैदेशिक रोजगारमा भएका युवालाई सानो परिमाणमा भेप बोकाएर पठाउने गरेका छन्। जुन यसअघि सुन तस्करीमा यस्तो डेमो प्रयोग हुने गरेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विमानस्थलबाट रिसिभ गर्न आएका र विदेशबाट भेप बोकेर आएका युवालाई पक्राउ गरेपछि तस्करीको शैली बाहिरिएको थियो।
फ्लाई दुबईको उडानबाट आएका दुई यात्रुको साथमा र बाहिर भेप लिन बसेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूमा योगेन्द्र दाहाल, सलिना बर्देवा, सौगात क्षेत्री, सुरेन्द्र घिसिङ छन्। योगेन्द्र र सलिना भने दुबईबाट फर्किएका थिए। उनीहरूको साथबाट ४ सय १० थान भेप बरामद भएको थियो।
‘उताबाट पठाउने यता रिसिभ गरेर जम्मा भएपछि भारत लैजाने गरेको देखिएको यो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा चार वर्षअघि पहिलो पटक भेप आयात भएको थियो। २०७७ जेठमा १० थान भेपको आयात भएको थियो। लगत्तै असारमा १९० थान पुनः आयात भयो। आर्थिक वर्ष २०७६/७७ मा नेपालमा २०० थान भेपको आयात भएको थियो। तर पछिल्ला वर्षमा १ अर्ब भन्दा बढी भेप आयत भएको देखिन्छ। प्रत्येक वर्ष भेपको आयात बढिरहेको छ।