हितेन्द्रदेव आएलगत्तै प्राधिकरणमा ३ दुर्घटना! महत्त्वपूर्ण सवस्टेसनमा आगलागी भवितव्य नै हो?

जनक वली
२०८२ बैशाख ३ गते १५:०७ | Apr 16, 2025
हितेन्द्रदेव आएलगत्तै प्राधिकरणमा ३ दुर्घटना! महत्त्वपूर्ण सवस्टेसनमा आगलागी भवितव्य नै हो?


काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई सहजसँग ल्याइएको होइन। पदावधि बाँकीछँदै कुलमान घिसिङलाई हटाएर शाक्यलाई ल्याएको हो। घिसिङलाई ल्याउँदा पनि तत्कालिन सरकारले शाक्यलाई उक्त पदबाट हटाएको थियो। नेतृत्वमा शाक्यको पछिल्लो पुनरागमनसँगै प्राधिकरणमा ३ वटा ठूला दुर्घटना भएको छ।

Tata
GBIME
NLIC

पछिल्लो पटक शाक्यले चैत १२ गते नेतृत्व सम्हालेका हुन्। त्यसयता प्राधिकरणका २ वटा ठूला सवस्टेसनमा ३ पटक आगलागी भइसकेको छ। त्यो पनि प्राधिकरणको पावर सिस्टम हिसाबले मेरुदण्ड नै मानिने सवस्टेसनहरुमा।

चैत २१ गते ढल्केबर सवस्टेसनमा आगलागी भयो। त्यसको ११ दिनपछि मातातीर्थ सवस्टेसनमा आगलागी भयो। मातातीर्थमा आगलागी भएको ४ दिन नबित्दै आइतबार बिहान पुनः ढल्केबर सवस्टेसनको १३२ केभी ६३ केभीएको ट्रान्सफर्मरमा आगलागी भएको छ। उक्त सवस्टेसनमा केबुल, ब्रेकर र सी टी लगायतका उपकरणहरुमा विद्युत सर्ट भई आगलागी भएको थियो।

आइतबार बिहान आगलागी भएको ढल्केबर सवस्टेसन

मातातीर्थ सबस्टेसन उपत्यकाको विद्युत व्यवस्थापनको मेरुदण्ड हो भने ढल्केवर मुलुककै ठूलो सबस्टेसन हो, जहाँबाट आन्तरिक वितरणसँगै भारतीय बिजुली लेनदेनको व्यवस्थापन हुने गरेको छ।

प्राधिकरणमा आफ्नो पुनरागमनलगत्तै भएका घटनाले शाक्यलाई सतर्क गराएको छ। उनका अनुसार यस्ता खालका घटना एकै नभएर धेरै कारणले हुने गर्छन्। उनले हाइ‍-भोल्टेज, सिस्टम र कर्मचारीको लापवाहीदेखि अन्य थुप्रै कारणले यस्ता खालका दुर्घटना हुने बताएका छन्। 

‘सवस्टेसनमा आगलागी हुनु विद्युतीय दुर्घटना हो। यो कहिलेकाही हाइ भोल्टेजको कारणले हुन्छ। कहिले सिस्टमको कारणले हुन्छ। कर्मचारीको लापरवाहीको कारणले हुन्छ,’ शाक्यले बिजमाण्डूसँग भने, ‘छोटो समयमा दुर्घटना भएको छ‍। यी घटना के कारणले भएको अहिलेसम्म यकिन भएको छैन।’

घटना के कति कारणले भएको हो भनेर छानबिन गर्नका प्राधिकरणले समिति गठन गर्ने शाक्यले बताए। ‘के कारणले दुर्घटना भएको हो भन्ने बारेमा हामीले छानबिन गर्न समिति गठन गर्छौं। मातातीर्थमा हामीले समिति गठन गरिसकेका छौं। उक्त समितिले रिपोर्ट बुझाएपछि थाहा हुन्छ। यो दुर्घटनाको बारेमा पनि हामीले छानबिन समिति गठन गर्छौं। त्यसपछि के कारणले भएको हो। थाहा हुन्छ,’ उनले भने।

प्राधिकरणले मातातीर्थ सवस्टेसनमा भएको आगलागीको छानबिन गर्नका लागि कमल आचार्यको नेतृत्वमा ३ सदस्यीय कमिटी गठन गरेको छ। उक्त समितिले एक हप्ताभित्र रिपोर्ट बुझाउने छ।

प्रारम्भिक चरणमा उक्त घटना भूमिगत लाइनको परीक्षणका क्रममा ठेकेदार कम्पनीको असावधानीले भएको हुनुपर्ने निष्कर्ष प्राधिकरण व्यवस्थापनको छ। उक्त घटनामा प्राधिकरणका मातातीर्थसँगै आठ वटा फीडरमा सर्टसर्किट भएको थियो। उक्त घटनामा भएका क्षतिको जिम्मेवार निर्माण कम्पनी हुने शाक्यले बताएका छन्।

गत शुक्रबार भएको घटनामा ११ केभीएको ८ वटा फिडरमा क्षति पुगेको थियो। उक्त परियोजना अहिले एल एण्ड टी कम्पनीले काम गरिरहेको छ। उक्त परियोजना कम्पनीले पुरा गरिसकेको छैन्। उक्त कम्पनीले प्राधिकरणलाई हस्तान्तरण नगरेको कारण सम्पूर्ण क्षती उक्त कम्पनीले बेहुर्नुपर्ने प्राधिकरणले जनाएको छ।

उक्त कम्पनीले त्यस दिन भएको घटनामा गल्ती स्वीकार समते गरेर रिस्टोरको लागि काम सुरु गरिसकेको प्राधिकरण स्रोतले बताएको छ। ‘समिति बनेको छ। ठेकेदार कम्पनीले पुन:निर्माणको काम पनि सुरु गरिसकेको छ,’ स्रोतले बन्यो।

यी दुई घटनालाई कार्यकारी निर्देशक शाक्यले पनि गम्भीर रुपमा लिएको प्राधिकरणको एक अधिकृतले बताए। ‘छोटो समयमा प्राधिकरणको पावर सिस्टमका हिसाबले मुटु मानिने सवस्टेसनमा आगलागी भएको छ। ढल्केबर सवस्टेसनले देशभर कै वितरण प्रणालीमा असर पार्छ,’ ती अधिकृतले भने,‘ त्यसैले यी दुर्घटनालाई एमडी सरले गम्भीर रुपमा लिनु भएको छ।’

मातातीर्थ सवस्टेसन आगलागी पछि

मुलुकको विद्युत आपूर्ति व्यवस्थापनका हिसाबसँगै लागतमा ढल्केबर र मातातीर्थ दुवै महत्त्वपूर्ण सवस्टेसन हुन्। ढल्केबरमा बिहान भएको आगलागीको कारण ठप्प महोत्तरी र धनुषामा विद्युत आपूर्ति प्रभावित भएको छ। ढल्केवर सवस्टेसनमा आगलागीको घटनाको असर प्राधिकरणको देशभरकै विद्युत आपूर्ति प्रणालीमा परेको छ। उता मातातीर्थमा बन्द हुँदा अहिले प्राधिकरणले वैकल्पिक व्यवस्था गरेर बिजुली व्यवस्थापन गरिरहेको छ।