
काठमाडौं। २०८१ सालको अन्तिम दिन सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आइतबार कारोबार मूल्य प्रति तोला १ लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत साताको अन्तिम दिनका तुलनामा कारोबार मूल्य एक हजार रुपैयाँ बढेर कायम भएको हो। शुक्रबार प्रति तोला १ लाख ८५ हजार रुपैयाँ थियो भने चालु महिनाको पहिलो दिन १ लाख ७४ हजार ५ सय रुपैयाँ थियो।
यो एक वर्षमा सुन तोलामा ४९ हजार २ सय रुपैयाँ बढेको छ। गत वैशाख २ गते सुन प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँ थियो।
चाँदी आइतबार तोलाको १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ। गत शुक्रबारका तुलनामा ५५ रुपैयाँ बढेको हो। शुक्रबार तोलाको १ हजार ९ सय ५ रुपैयाँ थियो। एक वर्षमा चाँदी तोलामा २ सय ५ रुपैयाँ बढेको छ। वैशाख २ मा तोलाको १ हजार ७ सय रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन आइतबार प्रति औंस ३२३८.८२ डलरले कारोबार भइरहेको छ। एक दिनमा सुनको कारोबार मूल्यमा ७७.२८ डलरको बढोत्तरी भएको छ। एक वर्षमा सुनको भाउ ३४.९४ प्रतिशत अर्थात् ८१८.६८ डलर बढेको छ।
चाँदी प्रति औंस ३२.२८ डलरले कारोबार भइरहेको छ। चाँदी एक दिनमा १.५० डलरले बढेको छ भने एक वर्षमा २.८२ डलरको बढोत्तरी छ।