बजारमा किनबेच हुने वस्तुमा लेबल र एमआरपी अनिवार्य, नटेर्नेलाई कार्बाहीको तयारी

बिजमाण्डू
२०८१ चैत्र १८ गते १७:२४ | Mar 31, 2025
बजारमा किनबेच हुने वस्तुमा लेबल र एमआरपी अनिवार्य, नटेर्नेलाई कार्बाहीको तयारी

काठमाडौं। बजारमा पाइने स्वदेशी उत्पादन र आयातित वस्तुमा लेबल अनिवार्य गर्नुपर्ने भएको छ। यसका लागि वाणिज्य उपभोक्ता संरक्षण विभागले उद्योग, आयातकर्ता र कारोबारमा संलग्न व्यावसायिक फर्महरुलाई समयसीमा तोकेको छ।

Tata
GBIME

विभागका महानिर्देशक कुमार दाहालले बजारमा किनबेच हुने वस्तुमा प्रकारअनुसार लेबल लगाउने काम पूर्ण रुपमा लागू गराउन विभाग लागिपरेको बताएका छन्। ‘लेबल र एमआरपीको काम अहिलेका लागि प्राथमिकतामा छ। चैत २० गतेसम्म व्यक्ति तथा फर्मलाई आयात गरिएको र देशमै उत्पादन भएका वस्तुको लेबल राख्न सूचना जारी गरिएको छ,’ उनले भने, ‘त्यसपछि बजारमा लेबल र एमआरपी राखिएको नभेटिए कानुन बमोजिम कार्बाही हुनेछ।’  

उनले अनुसार लेबल र अधिकतम बिक्री मूल्य (एमआरपी) नभएका वस्तु विभागले जफत गर्ने जानकारी दिए। ‘पछिल्लो समय बजारमा लेबल र एमआरपी नभएका खाद्य र अन्य वस्तु प्रशस्त छन्। यस्ता वस्तुले उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पार्ने गर्छ भने व्यापारीले आफ्नो लाबका लागि अनुचित गतिविधि गरिरहेका छन्।’

किनबेच हुने वस्तुमा लेबलिङ र एमआरपी लामो समयदेखि मुख्य समस्या बनिरहेको विभागको निष्कर्ष छ। ‘हामीले साना व्यवसायीलाई मात्र हेरेर हुँदैन ठुला उद्योग र आयात हुने वस्तुमा बढी ध्यान दिनुपर्छ,’ उनले भने।

पछिल्लो समय बजारमा पाइने आयातित वस्तुहरुमा एमआरपी नहुने र केहीमा हुनुपर्ने भन्दा पनि बढी एमआरपी हुने गरेको छ।स्वदेशी उद्योगद्वारा उत्पादित खाद्यान्न, डेरी प्रडक्ट लगायतमा लेबल नराखी बिक्री भइरहेको छ। व्यवसायीले फर्म वा कम्पनी समेत दर्ता नगरेको भेटिने गरेको छ।

विभागको कार्यक्षेत्रभित्र पर्ने सबैमा अनुगमनमा कडाइ र अनधिकृत मूल्यवृद्धिलाई नियन्त्रण गर्ने महानिर्देशक दाहालले बताए।