धर्मकीर्ति महाविहारको निर्माणमा लापरवाही, कामपा अनुगमन टोलीले रोक्यो निर्माण

बिजमाण्डू
२०८१ चैत्र १६ गते ०८:४९ | Mar 29, 2025
धर्मकीर्ति महाविहारको निर्माणमा लापरवाही, कामपा अनुगमन टोलीले रोक्यो निर्माण


काठमाडौं। काठमाडौं महानगरपालिकाको अनुगमन समितिले धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकेको छ। कामपा उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा रहेको समितिले निर्माण कार्यको अनुगमन गर्दा भर्‍याङ जोखिमपूर्ण र भवन निर्माण प्रक्रियामा लापर्वाही देखिएपछि निर्माण कार्य रोकेको जनाएको छ।

Tata
GBIME
NLIC

समितिले जोखिमपूर्ण भर्‍याङ भत्काउन, सुपरभाइजर र साइट इञ्जिनियरको लिखित स्वीकृति बिना थप काम अगाडि नबढाउन समेत निर्देशन दिएको हो। जमिन तलाबाट पहिलो तलामा जाने भर्‍याङका तलाहरुको उचाइ फरक फरक भएको, साँघुरो भएको, ढलान गर्न जोडिएका फर्मामुनि इटा राखिएको, सुपरभाइजर र इञ्जिनियरले यसअघि दिएका निर्देशन पालना नगरेको अवस्था पाइएकाले निर्माण कार्य रोकिएको कामपाको भनाइ छ।

अनुगमनका क्रममा समितिका संयोजक एवं कामपाको उपप्रमुख डंगोलले, पूर्वाधार निर्माणमा भइरहेका गलत क्रियाकलापमा आँखा चिम्लिन नसकिने बताइन। ‘तोकिएको मापदण्डमा घट्ने गरी कतैको पनि काम अगाडि बढ्न दिँदैनौं। काम नभएर फरक पर्दैन, गलत हुनुहुँदैन,’ उनले भनिन्।

‘निर्माण कार्यमा अपनाउनुपर्ने विधिमा लापर्वाही गरेको भेटियो,’ सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘निर्माण कार्यमा पहिलेको दाँजोमा सुधार आएको छ। तर, अझै कडा निगरानी चाहिएको छ। हामी यसलाई कडाइ गरेर लैजान्छौं।’

उक्त विहार बुद्ध शिक्षाका लागि निर्माण गर्न लागिएको हो। गएको भदौ २३ गते कार्यादेश दिइएको निर्माण कार्य आगामी भदौ २२ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा छ। आयोजनाको सम्झौता रकम ५६ लाख ५८ हजार ३७२ रुपैयाँ हो।

११७८.१८ वर्गफिट क्षेत्रफल भएको जमिनमा निर्माण हुने चार तले विहारको जमिन तला, पहिलो र दोस्रो तला ८२३.२३ वर्गफिटका हुनेछन्। माथिल्लो तला ५७८.६४ वर्गफिट क्षेत्रफलको हुनेछ। त्यस्तै वडा नं २२ मा रहेको मूलश्री महाविहार (मुःबाहा) मा रहेको कुमारी द्यो छेँ र वडा नं २४ मा रहेको ब्राम्हिण राजोपाध्याय आगमछेँ निर्माण प्रक्रियाको बारेमा पनि जानकारी लिएको थियो।

मूःवहामा रहेको तीन तला र बुइँगल रहेको कुमारी द्यो छेँको सम्झौता रकम रु १ करोड ९२ लाख ९ हजार ११३ हो। यसको पुनःनिर्माणका लागि गत भदौ ९ कार्यादेश दिइएको हो । विसं २०८२ फागुन ८ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्छ। पछिल्लो समय कामपाले निर्माणाधीन सम्पदाको अनुगमन गरिरहेको छ। रासस