
धरान (सुनसरी)। वैदेशिक रोजगारीबाट फर्किएका तीन युवाले कृषि फार्म सञ्चालन गरेर स्थानीयस्तरमै आयआर्जनको नमुना काम गरेका छन्। बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गरेका हुन्।
गाउँघरमै आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसायिक कृषि सुरु गरेका उनीरुले विदेशमा कमाएको पैसा लगानी गरी आम्दानी लिइरहेका छन्। अमिर र रघुवीरले पाँच वर्ष दक्षिण कोरियामा काम गरेका हुन् भने छविलाल अफगानिस्तानबाट फर्किएका हुन्। उनीहरू विदेशमा पनि कृषि क्षेत्रमै कार्यरत थिए।
विदेशमा सिकेको सीपलाई सदुपयोग गरी व्यवसायिक कृषुमा जुटेको अमिर निरौलाले बताए। २०७४ सालमा सुन्दर कृषि फार्म दर्ता गरेर उनीहरुको व्यवसायिक कृषि सुरु भएको हो। सुरुमा आधुनिक प्रविधिको प्रयोग गरेर २० बिघा जमिनमा सागपात लगाएका थिए। जैविक मलको प्रयोग गरी सागपात उत्पादन गरी राम्रो आम्दानी लिइरहेको निरौलाले बताए।
‘सुरुआतमा ६ लाखको लगानीमा डेढ बिघा जमिनबाट सुरु गरेको व्यवसाय अहिले बढेको छ। सुरुआती समयमा लगानी, जमिन र बजार पहुँचको समस्या भए पनि नगरपालिकाबाट सरकारी अनुदान र विभिन्न संघसंस्थाबाट सहयोगका साथै डिजिटल मार्केटिङका कारण निकै सहज भएको छ,’ उनले भने।
विदेशको अनुभव र सीपलाई स्वदेशमै सदुपयोग गर्नसके सम्भावना रहेको रघुवीर चन्द्रवंशी बताउँछन्। उनीहरूले चार बिघामा काँक्रा लगाएका छन् भने तीन बिघामा गोलभेंडा, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, घिरौला कोभी लगायत मौसम अनुसारका सागपात छ।
फार्म सञ्चालकमध्येका निरौलाले भने, ‘वर्षमा एक करोडको सागपात बिक्री हुन्छ, तर सागपात खेतीमा प्रयोग गर्ने मल, कर्मचारीको तलब गरी वार्षिक ७० लाख जति खर्च हुँदा सबै खर्च कटाएर २० लाखदेखि रु ३० लाखसम्म बचत हुन्छ।’ उनका अनुसार फार्ममा २० जनाले रोजगारी पाएका छन्। फार्मबाट सबैभन्दा धेरै काँक्रा र टमाटर उत्पादन हुने गरेको छ। उत्पादित वस्तु खरिद गर्न व्यापारी आफैं फार्ममा आइपुग्छन्।
गत असोजमा आएको दुई दिनको बाढीले सात बिघा डुबान हुँदा ३५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनीहरूले बताए। यहाँ उत्पादित धेरैजसो सागपात झापाको दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको चौधरीले बताए। बाँकी सागपात धरानको कृषि उपज, इटहरी, इनरुवा, धनकुटा बराहक्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका लागि लगिन्छ।
कृषि पेसामा मेहेनत धेरै लागे पनि मौसम अनुसारको सागपात उत्पादन भइरहने भएकाले खासै घाटा नहुने उनीहरुको अनुभव छ। नगरपालिकाले अनुदानमा ‘मिनी टिलर’ उपलब्ध गराएको छ। साथै मल बीउ अनुदान स्वरुप सहयोग गरेको छ। जसले गर्दा कृषि उत्पादनमा लागत घटाउन मदत पुगेको छ।
बराह क्षेत्रमा सिँचाइ सुविधा, मलको उपलब्धतालगायतले नगरभित्र सागसब्जीको उत्पादन धेरै हुने गरेको नगरप्रमुख रमेश कार्कीले बताए। बराहक्षेत्र नगरभित्रका करिब ७० प्रतिशत घरपरिवार सागपात खेतीमा आबद्ध छन्। उनले भने, ‘बराहक्षेत्र नगरपालिका सागपात खेतीका लागि उर्वर, प्रख्यात मानिनुका साथै बजारीकरणको समस्या नभएकाले यहाँका कृषकको आकर्षण सागपात खेतीमा बढेको हो।’ रासस