८ दिनका लागि अन्तरिक्ष स्टेसनमा पुगेका बुच र सुनी ९ महिनापछि मात्रै फर्किए घर

बिजमाण्डू
२०८१ चैत्र ६ गते ११:३८ | Mar 19, 2025
८ दिनका लागि अन्तरिक्ष स्टेसनमा पुगेका बुच र सुनी ९ महिनापछि मात्रै फर्किए घर
तस्बिर : नासा।


अन्तरिक्षमा ९ महिनादेखि फसेका नासाका दुई अन्तरिक्षयात्री अन्ततः पृथ्वीमा फर्किएका छन्। इलन मस्कको कम्पनी स्पेसएक्सको सहायतामा अन्तरिक्षयात्रीहरू बुच विलमोर र सुनी विलियम्स पृथ्वीमा फर्किएका हुन्

Tata
GBIME
NLIC

अन्तरिक्षयात्री बोकेको स्पेसएक्सको क्याप्सुल तीव्र गतिमा पृथ्वीमा प्रवेश गरेको थियो। उक्त गतिलाई मथ्थर बनाउन ४ वटा प्यारासुटको प्रयोग गरिएको छ। क्याप्सुल फ्लोरिडाको तटमामा अवतरण भएको थियो।

एक उद्धार पानीजहाजले क्याप्सुललाई पानीबाट बाहिर ल्याएको थियो।

‘अन्तरिक्षयात्रीहरूको अवस्था ठिक छ,’ पत्रकार सम्मेलनमा नासाको कमर्सियल क्र्यु प्रोग्रामका म्यानेजर स्टिभ स्टिचले भने।

८ दिनका लागि तय भएको यो अन्तरिक्ष मिसन ९ महिनापछि मात्रै अन्त्य भएको हो। बुच र सुनीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा पुग्न प्रयोग गरेको यानमा समस्या आएपछि यो मिसन नाटकीय रुपमा लम्बिएको थियो।

नासाको स्पेस अपरेसन मिसन डाइरेक्टोरेटका उप-सहयोगी प्रशासक जोएल मोन्टलबानोले भने, ‘क्रू ९ महिनापछि फिर्ता आउन सफल हुनु निकै सुखद कुरा हो।’

अन्तरिक्षयात्रीहरूको क्षमतालाई कदर गर्दै उनले यो मिसनमा स्पेसएक्स एक उत्कृष्ट साझेदार रहेको बताए।

अन्तरिक्षयात्रीहरू पृथ्वीसम्म आइपुग्न १७ घण्टाको समय लागेको थियो। उनीहरूलाई स्वास्थ्यकर्मीको टिमले जाँच गरेपछि परिवारसँग मिलन गराइनेछ।

अन्तरिक्षमा लामो-अवधिको मिसनहरूले शरीरमा असर गर्छ। अन्तरिक्ष यात्रीहरूको हड्डीको घनत्व गुम्नुका साथै मांसपेशीमा पनि हानि पुगेको हुन्छ। रक्त संचालन पनि प्रभावित हुन्छ र तरल परिवर्तनले आँखाको ज्योतिलाई पनि असर गर्न सक्छ।

अन्तरिक्षयात्रीहरू बुच र सुनी। तस्बिर : एपी।

शरीर सामान्य अवस्थामा फर्किन लामो समय लाग्न सक्छ। त्यसैले शरीरलाई गुरुत्वाकर्षणसँग अनुकूल बनाउन उनीहरूले व्यापक व्यायाम गर्नुपर्ने हुन्छ।

बुच र सुनीको अन्तरिक्ष यात्रा सन् २०२४ को जुनबाट सुरु भएको थियो। एरोस्पेस कम्पनी बोइङले निर्माण गरेको स्टारलाइनर स्पेसक्राफ्टको पहिलो क्रूसहितको परीक्षण उडानअन्तर्गत उनीहरू अन्तरिक्षमा पुगेका थिए।

तर, आईएसएससम्म यात्रा गर्दा क्याप्सुलमा धेरै प्राविधिक समस्याहरू आएका थिए। जसका कारण अन्तरिक्ष यात्रीहरूलाई सोही क्याप्सुलमार्फत घर फर्काउँदा निकै जोखिमपूर्ण हुने बताइएको थियो।

स्टारलाइनर गत सेप्टेम्बरको सुरुमा रित्तै पृथ्वीमा सुरक्षित फर्कियो। र, दुई यात्रीलाई फर्काउन नयाँ यानको आवश्यकता थियो।

त्यसैले नासाले अर्को निर्धारित उडानका लागि स्पेसएक्स क्याप्सुललाई रोजेको थियो। जुन सेप्टेम्बरको अन्तमा आईएसएसमा आइपुग्यो।

उक्त यान बुच र सुनीका लागि दुईवटा सिटहरू खाली राखेर दुई यात्री मात्रै बोकेर उडेको थियो। यद्यपि, यो योजना ६ महिना लम्बिँदा अन्तरिक्षयात्रीहरूको बसाइँ लम्बिएको थियो।

लम्बिएको अन्तरिक्ष बसाइँलाई बुच र सुनीले राम्रोसँग सदुपयोग गरेका छन्। उनीहरूले परिक्रमा प्रयोगशालामा बोर्डमा विभिन्न प्रयोगहरू गर्नुका साथै स्पेसवाकहरू पनि गरे।

सुनीले अन्तरिक्ष स्टेसन बाहिर सबैभन्दा धेरै घण्टा बिताउने महिलाको रेकर्ड तोडिन्। र, घरमै क्रिसमस मनाउने योजना बनाएका उनीहरूले आईएसएसबाट उत्सव सन्देश पठाएका थिए।

उनीहरूलाई अन्तरिक्षमा ‘फसे’ भनेर वर्णन गरिए पनि वास्तवमा त्यस्तो भएको थिएन।

मिसनको अवधिमा कुनै आपतकालीन अवस्था आएको खण्डमा उनीहरूलाई घर ल्याउनका लागि अन्तरिक्ष स्टेसनमा यान यथावत राखिएको थियो।