भिसा कार्ड चलाउन अब पोस मेसिन नचाहिने, फोनपे क्यूआरबाटै विदेशीले नेपालमा भुक्तानी गर्न सक्ने

बिजमाण्डू
२०८१ फागुन २७ गते १७:०० | Mar 11, 2025
भिसा कार्ड चलाउन अब पोस मेसिन नचाहिने, फोनपे क्यूआरबाटै विदेशीले नेपालमा भुक्तानी गर्न सक्ने


काठमाडौं। भिसा प्रयोग गर्ने विदेशीले अब फोनपेको क्यूआरमार्फत नेपालमा भुक्तानी गर्न सक्ने भएका छन्। भिसा कार्डबाट भुक्तानी गर्न पोस मेसिन अनिवार्य चाहिनेमा अब भने क्यूआरबाटै भुक्तानी गर्न मिल्ने भएको छ।

Tata
GBIME
NLIC

जसका लागि भिसा र फोन पेले ‘स्क्यान टु पे’ सुविधा सुरु गर्न समझदारी गरेका छन्। सहकार्यले भिसा कार्ड प्रयोग गर्ने पर्यटकहरुले नेपालमा सुरक्षित डिजिटल कारोबार गर्न पाउने भएका छन्।

भिसा र फोनपेबीच सुरु भएको स्क्यान टु पे सुविधाले नेपालभर रहेका १५ लाखभन्दा बढी क्यूआर मर्चेन्टहरुमा भिसा कार्डबाटै भुक्तानी गर्न मिल्नेछ। पर्यटकहरूले डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन् भने उनीहरूले नेपालमा फोनपे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्ड स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गरिएको भिसाका लागि नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले बताए।

‘यो साझेदारी गर्न पाउँदा हामी खुसी छौं। भिसाका लागि फोनपेसँगको यो साझेदारी एक महत्त्वपूर्ण कोसेढुङ्गा हो। हामी भुक्तानी गर्ने र भुक्तानी पाउने थप नवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउन आतुर छौं,’ अहमदले भने।

यस्तै, फोनपेको क्यूआरलाई नेपालमा रुचाइएको अवस्थामा सीमापार भुक्तानी योजनालाई पनि विस्तार गर्न यो महत्वपूर्ण कदम भएको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले बताए।

‘जसले विश्वभरका भिसा कार्डधारकहरूलाई क्यूआर भुक्तानी स्वीकृति जस्ता वैकल्पिक भुक्तानी मार्गहरूमा निर्वाध र सुरक्षित डिजिटल कारोबार अनुभव प्रदान गर्छ,’ सापकोटाले भने, ‘भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको मजबुत क्यूआर पूर्वाधारले सीमापार लेनदेनलाई अझ पहुँचयोग्य र सुविधाजनक बनाउँदै नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउनेछ। यसले साना ठूला सबै व्यवसायीलाई फाइदा पुग्नेछ। नेपालमा वित्तीय समावेशीकरणलाई अझ बलियो बनाउनेछ।’

नेपालका साथै एसियाली देशहरुमा सबैभन्दा लोकप्रिय भुक्तानी विधिमध्येको क्यूआर कोडले नेपालका लाखौं व्यापारिक आउटलेटहरूमा नगदरहित भुक्तानीलाई सरल बताएको छ। यसले कारोबारको समय घटाउनुका साथै सुरक्षित डिजिटल भुक्तानीलाई विस्तार गर्न सघाएको छ।

साना व्यवसायहरूले पोस मेसिन नभएकै अवस्थामा कार्ड भुक्तानी स्वीकार गर्न सक्ने छन् भने ठूला खुद्रा पसलहरूले ग्राहकहरूलाई छिटो र सजिलो भुक्तानी सेवा दिन सक्ने कम्पनीले जनाएको छ।

भिसाले नेपालमा डिजिटल भुक्तानीको प्रयोग र स्वीकार्यता बढाउन बैंक र साझेदारहरूसँग निरन्तर काम गर्दै आएको छ।