
काठमाडौं। अशोक खड्का न्युरोडको एउटा क्यामरा पसलमा काम गर्छन्। उनी पैसा झिक्न र जम्मा गर्नका लागि बैंक धाउन छोडेको करिब १ वर्ष भयो। तलब बैंक खातामा आउँछ। चिया/खाजादेखि लत्ताकपडा किन्दाको खर्च उनी मोबाइल बैंकिङबाट भुक्त्तानी गर्छन्।
टोखाका उमेश रावलले यस वर्षको जाडोयामको सपिङ अनलाइनमार्फत गरे। लत्ताकपडा, जुत्ता किन्न उनी बजारसम्म गएनन्।
अशोक र उमेश प्रतिनिधि उदाहरण हुन्। अहिले भौतिकरुपमा पैसाको कारोबार उल्लेख्यरुपमा घटेको छ। युवाहरुले त पर्समा पैसा बोक्न छोडिसकेका छन्। डिपार्टमेन्टल स्टोरदेखि चिया पसलसम्म क्यूआर स्क्यानबाट भुक्त्तानीको सुविधाले पैसा बोक्नु पर्ने बाध्यता छैन।
एकातिर अनलाइनमार्फत किनमेल गर्ने क्रम बढेको छ भने अर्कातिर पसलमै पुग्नेहरुले पनि डिजिटल भुक्त्तानी गर्ने गरेका छन्। सवारी साधनको भाडासम्म मोबाइलबाटै तिर्न मिल्ने भएपछि डिजिटल वालेट र क्यूआरको कारोबारमा उल्लेख्यरुपमा बढेको छ।
पछिल्लो ४ वर्षमा डिजिटल भुक्त्तानी २८५.१७ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा मासिक ३ करोड ८१ लाख वटा विद्युतीय कारोबार हुने गरेकोमा अहिले १४ करोड ६९ लाख हाराहारी भइरहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। विदुतीय प्रणालीमार्फत हुने पैसाको लेनदेन पाँच वर्षमा १४२.४७ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय प्रणालीमार्फत मासिक २९ खर्ब ६९ अर्ब रुपैयाँको कारोबार भएकामा अहिले ७१ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
कोभिडपछि बढेको डिजिटल कारोबार अहिले व्यापक बन्न पुगेको छ। बैंक तथा वित्तीय संस्थाले पनि डिजिटल भुक्त्तानीलाई नै प्रोत्साहित गर्दै आएका छन्। उनीहरुले विभिन्न डिपार्टमेन्टल स्टोरदेखि होटल र अस्पतालमा छुट दिने प्याकेजसहित ग्राहकलाई डिजिटल भुक्त्तानीमा प्रोत्साहित गरिरहेका हुन्। जसका कारण नगदमा भुक्त्तानी निक्कै कम भएको छ।
राष्ट्र बैंकका निर्देशक डिल्लीराम पोखरेल जुनसुकै किनमेलको भुक्तानी मोबाइलबाट गर्ने मिल्ने सुविधा तथा मोबाइलमा अभ्यस्त युवाहरु पसलमा जानुको साटो अनलाइन सपिङमा रमाएकाले डिजिटल कारोबार बढ्न पुगेको बताउँछन्।
त्यही कारण पछिल्लो पाँच वर्षमा क्यूआर भुक्त्तानीको कारोबार संख्या सबैभन्दा धेरै ६६ गुणा र क्यूआर भुक्त्तानीको कारोबार रकम ५९ गुणाले बढेको छ।
आर्थिक वर्ष २०७६/७७ मा मासिक क्यूआरबाट भुक्त्तानीको संख्या ३ लाख ७२ हजार रहेकामा अहिले बढेर २ करोड ४५ लाख सम्म पुगेको छ। यस्तै २०७६/७७ मा क्यूआरबाट मासिक १ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकामा अहिले बढेर ७३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
क्यूआरपछि कारोबारमा मोबाइल बैंकिङ दोस्रो नम्बरमा छ। पछिल्लो पाँच वर्षमा मोबाइल बैंकिङको कारोबार संख्या साढे ४ गुणा र कारोबार रकम १२ गुणाले बढेको छ।
एटीएम कार्डमार्फत हुने कारोबार संख्या ४१.१५ प्रतिशत र कारोबार रकम ४८ प्रतिशतले वृद्धि भएको छ। प्रिपेड कार्डमार्फत कारोबार संख्यासँगै कारोबार रकम समेत उच्च दरले बढेको छ।
अहिले कनेक्ट आईपीएसमार्फत हरेक दिन १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ। सरकारी राजस्व तिर्नदेखि शेयर किनबेच, ठूला व्यापारिक लेनदेनमा कनेक्ट आईपीएस बढी प्रयोग हुन्छ।
अन्तरदेशीय क्यूआरमार्फत हुने कारोबार समेत बढ्न थालेको छ। पुस महिनामा मात्रै यस्तो कारोबार ८९ अर्ब १८ करोड रुपैयाँको भएको छ।
यस्तो छ पाँच वर्षको डिजिटल भुक्तानीको अवस्था
विद्युतीय कारोबार | २०८१/८२ कारोबार संख्या पुस महिना | २०८१/८२ कारोबार रकम पुस महिना (रु. दश लाखमा) | २०८०/८१ कारोबार संख्या पुस महिना | २०८०/८१ कारोबार रकम पुस महिना (रु. दश लाखमा) | २०७९/८० कारोबार संख्या पुस महिना | २०७९/८० कारोबार रकम पुस महिना (रु. दश लाखमा) | २०७८/७९ कारोबार संख्या पुस महिना | २०७८/७९ कारोबार रकम पुस महिना (रु. दश लाखमा) | २०७७/७८ कारोबार संख्या पुस महिना | २०७७/७८ कारोबार रकम पुस महिना (रु. दश लाखमा) |
आरटीजीएस | ६९२०९ | ५३०१०३३ | ६२९७० | २६२९०४८ | ६८७७४ | २७००१५७ | ६४२५४ | ३६८०४६३ | ४९०२९ | १६८४०३१ |
एटीएम | १०३७७३६२ | ८७५२० | १०४५५६५९ | ८४४२२ | ९६८००५७ | ७७८४६ | ८४५८९४४ | ६९२९२ | ६७९०६४६ | ५८७६९ |
इसीसी | १०६४७५१ | ५३४९६८ | ९६९७५२ | ५०९०६६ | १००३९२८ | ५३७९४७ | ११८४९८५ | ७६५९५७ | ११२२२९५ | ७६२७६६ |
आइपीएस | २९७२९९८ | २३१२७६ | २०६४३२६ | २०४२९६ | २४५९४५३ | १८१००५ | १६६१२५१ | १६७७९३ | ९८०२३७ | २४२५३१ |
एफपीएस | १३४०९७५० | ४१०९९२ | १०१८३७८० | ३१२५६७ | ४३२०२५२ | ३४३३१६ | ३१४५९५९ | २४७४७४ | १४०३८७३ | १००७७९ |
डेबिट कार्ड | १११४७१०७ | ९१४५९ | ११२२२५७७ | ८८०७० | १०४६९३७६ | ८१४२१ | ९२९८०७९ | ७२६१९ | ७४७८०२२ | ६१६०१ |
क्रेडिट कार्ड | २६९१६८ | २०४६ | २५१७१४ | १७६७ | २३६५७० | १५३६ | १८३५७१ | ११२५ | १५१६८५ | ९५५ |
प्रिपेड कार्ड | १३०१५४ | १२०० | ८९६२७ | ६३४ | ६०७६० | ४०५ | ४५४११ | २९५ | १५६५५ | १०८ |
इन्टरनेट बैंकिङ | ३७८५४५ | १७५८७ | २७३२८६ | १४८०८ | २३४३८७ | १२२९१ | २५६२२८ | १३४९६ | ३०२०५६ | ८५०३ |
मोबाइल बैंकिङ | ४८९८८७१६ | ३९८३८२ | ३३२२४०७८ | २८२२४१ | २१६४५१६२ | १६७८०७ | १३५१८९३६ | ९४४०७ | ८६८१३६९ | ३३१५३ |
ब्रान्चलेस बैंकिङ | ६९३०३ | १५५० | ५५७२५ | १२०९ | ६४९०६ | १३६९ | ५३०२९ | १२०० | ५०३५० | १११५ |
वालेट | ३२२६४४०० | ४०५६० | २१३८८३६८ | २३०८४ | १७१७६४०६ | १८२६१ | १३७१२२०६ | १६२७६ | ९८९०५२१ | ९६५६ |
क्यूआर | २४५१७०७६ | ७३२२५ | १२५८६२६८ | ३८५९६ | ५६१८८२६ | १७०३२ | १९१८५२६ | ६५२५ | ३७२१७६ | १२४५ |
पीवएस | ९९९९३८ | ५९३४ | ९९३६४६ | ५३२२ | १००२२९४ | ५०२३ | ९९५०३७ | ४३९६ | ७३४३७६ | ३०५३ |
इ-कमर्स | १६७३३३ | १२४७ | ११२९९३ | ७२४ | ८१५०१ | ४८८ | ७१६६६ | ३४९ | १२००१३ | ८४३ |
अन्तरदेशीय क्यूआर | ८९१८६ | ३१४ | – | – | – | – | – | – | – | – |
जम्मा | १४,६९,१४,९९६ | ७१,९९,२९३ | १०,३९,३४,७६९ | ४१,९५,८५४ | ७,४१,२२,६५२ | ४१,४५,९०४ | ५,४५,६८,०८२ | ५१,४१,६६८ | ३,८१,४२,३०३ | २९,६९,११० |