ब्रेक्जिट र ट्रेडवारले २०१८ मा अर्बपतिहरु खुम्चिए, टप लुजर्स बने जुकरबर्ग, अम्बानी कसरी नाफामा?

बिजमाण्डू
२०७५ पुष ८ गते १३:१० | Dec 23, 2018
ब्रेक्जिट र ट्रेडवारले २०१८ मा अर्बपतिहरु खुम्चिए, टप लुजर्स बने जुकरबर्ग, अम्बानी कसरी नाफामा?


सन् २०१८  विश्वका धेरै लगानीकर्ताकालागि समस्याग्रस्त वर्ष बन्यो। विश्व शेयर बजार, ब्रेक्जिट र अमेरिका चीन ब्यापार तनावका कारण लगानीकर्ताहरुको टाउको दुखाइ बनेको यो वर्ष भने सकिन लागेको छ।

Tata
GBIME

फोर्ब्सले गरेको विश्लेषण अनुसार सन् २०१८ मा धेरै लगानीकर्ताको सम्पत्ति संकुचन भएको छ। यस अवधिमा फेसबुकका सिइओ मार्क जुकरबर्गलाई सबैभन्दा ठूलो घाटा भएको छ।

फेसबुकको आन्तरिक स्क्याण्डल तथा पब्लिसिटी ड्यामेजका कारण फेसबुकले नराम्रो घाटा ब्यहोर्यो। यस वर्ष आफ्नो सम्पत्ति गुमाउनेहरुको सूचीमा पर्ने  टप टेन लुजर्समध्ये अमेरिकाबाट जुकरबर्ग मात्र हुन्। त्यसबाहेक अन्य आधाजसो एशियाबाट परेका छन्।

अझै पनि धेरै अर्बपतिहरु तल खस्कने ट्रेन्डमै देखिएका छन्। बिल गेट्स र स्टिभ बलमेरले कमाएका छन्। केही रुसी नागरिकहरु धनी भएका छन् तेल तथा ग्यास फर्मका मालिकहरुको नाफा बढेको छ।

फोर्ब्सका अनुसार सबैभन्दा धेरै नाफा गर्नेहरुको सूची यस्तो छ।

१ जेफ बेजोस

वर्षकै सबैभन्दा धेरै कमाएका छन् अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोसले। उनको सम्पत्ति २८ अर्ब डलरबाट बढेर १२६.२ अर्ब डर पुगेको छ। एक वर्षको अन्तरालमा यति धेरै रकम नाफा गरिर बेजोसले अरुसँगको मार्जिन निकै बढाएका छन्।

टप गेनर्सको अग्र स्थानमा जेफ बेजोस छन्। अमेजनले टर्की र भारतमा बजार बिस्तार गरेसँगै नाफामा रेकर्ड बनाएको छ। कम्पनीले आफ्नो दोस्रो हेडक्वार्टर न्यूयोर्क तथा भर्जिनियाको आर्लिङटनमा बनाएको छ।

२ तादासी यानाइ

दोस्रो धेरै कमाउनेमा जापानका तादासी यानाइ छन्। उनी फेसन चेन यूनिक्लोका मालिक हुन्। उनको सम्पत्ति यस वर्ष ७ अर्ब डलरले बढेको छ। उनी कुल २७.१ अर्ब डलरको मालिक बनेका छन्। यूनिक्लोको अन्तराष्ट्रिय बजारमा भएको बृद्धि तथा आन्तरिक  बजारमा भएको बिक्रीले तादासीको सम्पत्तिमा एक वर्षमै यति धेरै रकम बढेको हो।

३ भाजिट एलेकपेरोभ

ल्यूक आयलका सिइओ एलेकपेरोभको नाफामा यस वर्ष ४.६ अर्ब डलर बृद्धि भएको छ। चुलिँदै गएको तेल र ग्यासको मूल्य तथा कमजोर रुसी मुद्रा रबलका कारण कम्पनीले नाफा कमाउन सक्यो जसका कारण एलेकपेरोभले यति धेरै कमाए। कम्पनीको स्टक पनि सन् २०१८ मा २९ प्रतिशतले बढेको छ।

४ रुपर्ट मुर्डक

टप गेनर्सको चौथो नम्बरमा छन् रुपर्ट मुर्डक। मुर्डकको न्यूज कर्पोरेसन अन्तर्गतका वाल स्ट्रिट जर्नल र न्यूयोर्क पोष्टको शेयरमा २६ प्रतिशतले गिरावट आएपनि मुर्डकको सबैभन्दा ठूलो शेयर रहेको कम्पनी २१ सेन्चुरी फक्सको शेयरमा ४२ प्रतिशतले बृद्धि भएको छ।

डिज्नीसँगको मेगा मर्जरपछि मुर्डकको ब्यक्तिगत सम्पत्तिमा बृद्धि भएको हो। मर्जरको प्रक्रिया सन् २०१९ को पहिलो ६ महिनाभित्रमा सकिने बताइएको छ।

५ लियोनिङ मिखेलसन

रुसको सबैभन्दा ठूलो स्वतन्त्र प्राकृतिक ग्यास तथा कच्चा तेलको उत्पादक नोभाटेकको स्टक मूल्य नाटकीय रुपमा ६५ प्रतिशत बढेको छ। यसबाट यसका अध्यक्ष तथा २५ प्रतिशत शेयरका मालिक मिखेलसनको सम्पत्तिमा पनि ४ अर्ब डलरको बृद्धि भयो।

६ जिनाडे टिमचेन्को

रुसकै अर्का अर्बपति टिमाचेन्कोको सम्पत्ति पनि उनको नोभाटेकमा भएको शेयरकै कारण ३.८ अर्ब डलरले बृद्धि भयो। उनको अर्को पेट्रोकेमिकल कम्पनी सिबुरमा पनि १७ प्रतिशत शेयर छ।

सिबुरको शेयर मूल्यमा पनि बृद्धि भएको छ। राष्ट्रपति पुटिनसँगको निकटताले पनि उनलाई फाइदा पुगेको छ। उनले आफ्नो गुनभोर ट्रेडिङ कम्पनीमा रहेको शेयर हिस्सा अमेरिकाले सन् २०१४ मा लगाएको नाकाबन्दीको ठिक एक दिन अघि बेच्न सफल भएका थिए।

७ स्टिभ बलमेर

माइक्रोसफ्टमा सन् २००० देखि २०१४ सम्म सिइओ रहेका स्टिभ बलमेरको सम्पत्ति यस बर्ष ३.४ अर्ब डलरले बढ्यो। कम्पनीको शेयरमा २० प्रतिशतको बृद्धिले उनलाई फाइदा पुगेको हो। क्लाउड सर्भिसमा कम्पनीले ब्यापार बिस्तार गरेका कारण कम्पनीको रेभेन्यूमा दोहोरो अंकको बृद्धिले भएको हो।

८ मुकेश अम्बानी

भारतका सबैभन्दा धनी अर्बपति मुकेश अम्बानीकालागि सन् २०१८ एकदमै उत्कृष्ट बर्ष रह्यो। उनको रिलायन्स इन्डस्ट्रिजको ३३ अर्ब डलरको मेगा प्रोजेक्ट जियोले लञ्च भएदेखि नै २५ करोड ग्राहक बनाउन सक्यो। सन् २०१८ मा रिलायन्सको शेयर २३ प्रतिशतले माथि उक्लियो। यसै कारण यस वर्ष उनको सम्पत्तिमा ३ अर्ब डलर थपियो। यसबाट उनको कुल सम्पत्ति ४४.४ अर्ब डलर हुन पुग्यो।

९ बिल गेट्स

अमेरिकाका धनाढ्यका रुपमा २४ वर्ष शिर्ष स्थानमा रहेका बिल गेट्स बिस्तारै सूचीबाट तल ओर्लिएपनि यस वर्ष उनले आफ्नो सम्पत्तिमा २.९ अर्ब डलर थपेका छन्। बिल गेट्सले आफ्नो शेयरको ठूलो हिस्सा बेचेपनि माइक्रोसफ्टको  नाफाबाट फाइदा उठाउन सकेका हुन्।

१० इलोन मस्क

टेस्लाका मालिक इलोन मस्कलाई उनका ट्विटहरुका कारण समस्या परेपनि यस वर्ष उनको सम्पत्तिमा भने २.८ अर्ब डलरले बृद्धि भएको छ। टेस्लाको मोडल थ्रि बिद्युतीय कारको लोकप्रियताले उनको सम्पत्ति बढाउन सहयोग पुग्यो। यस्तै उनको कुल सम्पत्तिको आधाभन्दा बढी बृद्धि प्राइभेट एरोस्पेस कम्पनी स्पेस एक्सको सफलताबाट पनि पाएका हुन्। कम्पनीका उनी मेजर शेयर होल्डर हुन्।

यसैगरी सबैभन्दा धेरै गुमाउनेहरुको सूची यस प्रकार छ।

१ मार्क जुकरबर्ग

अर्बपतिको सूचीमा रहेका मध्ये सन् २०१८ मा सबैभन्दा धेरै घाटा खाने ब्यक्ति मार्क जुकरबर्ग रहेका छन्। दोस्रो त्रैमासमा फेसबुकको शेयरभ्यालु १९ प्रतिशत गुमेपछि जुकरबर्गको सम्पत्ति १८.७ अर्ब डलरले गुम्यो। सन् २०१८ पूरै नै फेसबुकको लागि दुर्भाग्यको बर्ष भयो।

कंग्रेसमा जुकरबर्गले फेसबुकले गरेको डाटा दुरुपयोग गरेका विषयमा स्पष्टीकरण दिनुपर्यो। यस्तै गरी न्यूयोर्क टाइम्समा फेसबुकले गलत सूचना प्रवाह गर्नकालागि रकम दिएकोबारे लेख्यो जसले फेसबुकको निकै आलोचना भयो।

२ अमान्सियो ओर्टेगा

इन्डिटेक्स क्लोथिङ रिटेलरका सहसंस्थापक अमान्सियो ओर्टेगाको सम्पतितमा १६.२ अर्ब डलको नोक्सानी भयो। फेसन चेन जाराको उत्पादक कम्पनीको मार्जिन प्रेसर तथा अन्य बिजनेस रिभ्यू रिपोर्टहरुका कारण शेयर मूल्यमा गिरावट आयो। यसबाट कम्पनीको नाफा सुस्ताएको हो।

३ जर्ज स्काफलेर

जर्मनीको टायर तथा अटो पार्ट्स कम्पनी कन्टिनेन्टल ए जिको शेयरमा लगातार गिरावट आइरहेको छ। यस वर्ष यसको यूरोप तथा चीनमा कम्पनीको कारहरुको बिक्रीमा आएको कमीले स्काफलरको सम्पत्तिमा १४ अर्ब डलरको गिरावट आयो। नोभेम्बरमा कन्टिनेन्टलले १ प्रतिशत शेयर बृद्धि भएको जानकरी दियो जुन अघिल्लो वर्ष ८.५ प्रतिशतको बृद्धिको तुलनामा निकै कम हो। गत वर्षभन्दा यसको शेयरमा ४६ प्रतिशतले गिरावट आइसकेको छ।

४ मा हुवाटेंग

इन्टरनेट जायन्ट टिन्सेन्टका मालिक माकोलागि यो वर्ष टफ रह्यो। चीनकै धनीको सूचीमा रहिसकेका माको कम्पनी टिन्सेन्टको शेयरमा २५ प्रतिशतले गिरावट आउनुले यस वर्ष माको सम्पत्ति १०.१ अर्बले खुम्चिन पुग्यो। यसै डिसेम्बरमा कम्पनीले आफ्नो म्युजिक स्ट्रिमिङको सहायक कम्पनी टिन्सेन्ट म्युजिक इन्टरटेनमेन्टलाई न्यूयोर्क स्टक एक्सचेन्जमा लिस्टिङ गर्न भने सफल भयो।

५ कार्लोस स्लिम हेलु

ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो टेलिकम कम्पनी अमेरिका मोभिलको नाफामा आएको गिरावटले यसका मालिक कार्लोस स्लिम हेलुलाई असर पर्यो। कम्पनीको स्टक मूल्यमा १९ प्रतिशतले गिरावट आएपछि कार्लोसको कुल सम्पत्तिमा ९.३ अर्ब डलर घाटा पुग्यो।

६ जोर्ज पाउलो लिम्यान

मदिरा उत्पादक कम्पनी अनह्युसेर बुस्च इनबेभको प्रस्तावित लाभांशमा ५० प्रतिशतको कटौती भएपछि यसको मेजर शेयरहोल्टर लिम्यानलाई ९.२ अर्ब डलरको नोक्सानी भयो। बियरको बिक्रीमा गिरावट आएको भन्दै कम्पनीले सन् २०१८ को लागि प्रस्तावित लाभांश कटौती गरेको थियो।

उनी क्राफ्ट हाइन्ज कम्पनीका पनि शेयर होल्टर हुन जुन कम्पनी पनि घाटामा गएको छ। हाइन्जको कुल  आम्दानीमा तेस्रो त्रैमासमा मात्रै ३३ प्रतिशतको गिरावट आएको छ।

७ चारोइन सिरिभादानाबाक्दी

थाइ अल्कोहलिक ड्रिंक्क उत्पादक कम्पनी थाइ वेभरेजको शेयर मूल्यमा ३९ प्रतिशतले गिरावट आएपछि कम्पनीकी ठूलो मात्रामा शेयर रहेका चारोइनको सम्पत्तिमा ७.२४ अर्बको गिरावट आयो।

आन्तरिक मदिरा बजारमा यसको बिक्री खुम्चियो। यसका मुख्य उपभोक्ता मानिएका निम्न आय बर्ग लक्षित पेयहरुप्रति ग्राहकहरु बढी सचेत हुन थालेसँगै यसको बिक्री घटेको विश्लेषकहरुले बताएका छन्।

८ पोलियाना चु

हङकङकी उद्यमी चुको सम्पत्ति यस वर्ष ७.२ अर्ब डलरको गिरावट आयो। उनको किङ्ग्सटन फाइनान्सियल ग्रुपको तीनवटा त्रैमासमा यसको शेयर मूल्यमा लगातार गिरावट आयो।

६ महिनामै यसको कुल नाफामा ३५ प्रतिशतले गिरावट आएपछि चुको सम्पतिमा पनि असर पुगेको हो। उनको कुल सम्पतित २ अर्ब डलरमा खुम्चिएको छ।

९ वाङ वेइ

चीनको 'फेडेक्स' भनिने डेलिभरी सर्भिस फर्म एस एफ होल्डिङको शेयरमा एक वर्षमा ३० प्रतिशतले गिरावट आएपछि कम्पनीका अध्यक्ष वाङ वेइको सम्पत्ति ६.७ अर्ब डलरले घट्यो।

चीनका सबैभन्दा ठूलो इ कमर्स फर्महरुमा आएको गिरावटले यसलाई पनि असर गर्यो। वेइसँग यस कम्पनीको ६० प्रतिशतभन्दा बढी शेयर छ।

१० झौउ कुनफेइ

विश्वकै सबैभन्दा धनी सेल्फ मेड उमन बनिसकेकी झौउ यसपटक भने नोक्सानीमा परेकी छिन्। अमेरिकासँगको ट्रेड वारको असर उनको स्मार्टफोन स्क्रिन ग्लास उत्पादक लेन्स टेक्नोलोजी कम्पनी कोलोसालमा पर्यो। यसबाट उनको कम्पनीको शेयर मूल्य ६४ प्रतिशतले घट्यो।

चीनको उच्च अदालतले यहि डिसेम्बरमा पुराना आइफोनहरुको मोडलमा बिक्रीमा लगाएको प्रतिबन्धले यस कम्पनीको समस्या अझै बढाइदिएको छ। कम्पनीको नाफा घटेपछि झोउको सम्पतिमा ६.३ अर्ब डलरको गिरावट आयो। यसबाट उनको कुल सम्पति ३.५ अर्ब डलरमा सिमित भएको छ।