काठमाडौँ। पूँजी बजार सुधारका लागि भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेपसे) कार्यालय अगाडि रिले अनशनमा बसेका लगानीकर्तालाई सरकारले बार्तामा बोलाएको छ।
लगातार अनशनमा बसेका लगानीकर्तालाई सरकारले शुक्रवार बार्तामा बोलाएको पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।
वार्ताका लागि दबाब समूहका तर्फबाट उत्तम अर्याल, तारा फुलेल, दिपेन्द्र अग्रवाल, शुस्मा ढुङ्गाना र तिलक कोइराला सहभागी भएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएका थिए। कार्यदलले आइतबार मन्त्री खतिवडालाई प्रतिवेदन बुझाउँदैछ।
प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि कार्यदलका एक सदस्य मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीसँग आन्दोलनकारी वार्तामा गएका हुन्। लगानीकर्ताको तर्फबाट कार्यदलमा इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेले छन्।
अहिले बार्ता चलिरहेको अर्यालले जानकारी दिए। गत आइतबारदेखि पूँजी बजारको सुधारका लागि १४ बुँदे माग राख्दै दबाब समूहले रिले अनशन गरिरहेको छ। माग पूरा नभए पुस १ गतेदेखि आमरण अनशन बस्ने चेतावनी दबाब समूहले दिएको थियो।