
काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ मुनाफा कमाएको छ।
प्रयोगकर्ता ओभर द टप (ओटीटी) एपमा अत्यधिक निर्भर हुँदा टेलिकमले भ्वाइस सेवाबाट गर्ने आम्दानी निरन्तर ओरालो लाग्दै गएको छ। जसका कारण पछिल्ला वर्षहरुमा कम्पनीको आम्दानीदेखि नाफासम्ममा धक्का पुगिरहेको छ। मोबाइल डेटा प्रयोगकर्ता फिक्स्ड ब्रोडब्यान्डतर्फ सिफ्ट हुँदा टेलिकमको आम्दानी घट्न पुगेको देखिन्छ।
आम्दानी घट्नुमा टेलिकमले चर्को प्रतिस्पर्धालाई समेत कारक मानेको छ। प्रतिस्पर्धाबाट जोगिन कम मूल्यका प्याकेज तयार गरेर बिक्री गर्दा चुनौती थपिएको दाबी टेलिकमको छ।
कम्पनीले यस वर्ष ६ महिनामा कमाएको मुनाफा गत वर्ष सोही अवधिको तुलनामा ३२.९७ प्रतिशत कम हो। गत वर्ष पुससम्म टेलिकमले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी घटेसँगै खुद नाफामा गिरावट आएको हो। कम्पनीको आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँमा सीमित भएको छ।
सूचक | २०८१/८२ | २०८०/८१ | फरक % |
---|---|---|---|
चुक्ता पुँजी(रु हजारमा) | १८०००००० | १८०००००० | – |
सञ्चालन आम्दानी(रु हजारमा) | १७००४९२५ | १७२४६७८० | -१.४० |
वित्तीय लागत(रु हजारमा) | -७६७९८ | -७६९४१ | – |
सञ्चालन खर्च(रु हजारमा) | ३१४९३७६ | ३१८६२३१ | -१.१५ |
खुद नाफा(रु हजारमा) | २६३५१२१ | ३९३१४०४ | -३२.९७ |
प्रति सेयर आम्दानी(रुपैयाँ) | २९.२८ | – | – |
प्रति सेयर नेटवर्थ(रुपैयाँ) | ५०६.३४ | – | – |